गैरकानुनी रुपमा एटिएमबाट बीस लाख निकाल्ने पक्राउ

अच्युत रेग्मी काठमाडौँ, ६ असार (रासस) :  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटिएमबाट रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले फ्रड प्लाष्टिक म्यागनेटिक कार्डको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैँकको विभिन्न एटिएम शाखाबाट रु २० लाखभन्दा बढी रकम निकाल्न बाराका ३३ वर्षीय राजुकुमार पाण्डेलाई बिहिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिपक रेग्मीले विभिन्न कार्डको प्रयोग गरेर गैरकानुनी रुपमा रकम निकालेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए । “पाण्डेले विदेशी नागरिकसँग मिलेर उक्त पेशा गर्दै आएको र विदेशी नागरिक अहिले नेपालबाहिर रहेको अनुसन्धानमा खुलेको छ,”–उनले भने ।

पक्राउ पाण्डेसँग प्रहरीले सादा कार्ड दुई थान, मोबाइल एक थान, मोटरसाएकल एक थान, ल्यापटप एक थान र रकम बरामद गरेको छ । पाण्डेलाई उच्च अदालत पाटनबाट सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।

ब्यूरोले हालसम्म अनाधिकृत रुपमा नेपाली रु ९५ लाख ६२ हजार, अमेरिकन डलर ७५ हजार, युरो ७३ हजार, इण्डोनेसियन रुपी ३३ हजार कारोबार गर्ने ६ नेपाली, चार रोमानियन, चार टर्कीस, दुई भारतीय, चार मोल्दोभियनलाई पक्राउ गरिसकेको छ । यस्तै, एटिएम कार्ड एक हजार ३६९ थान बरामद समेत गरेको छ ।