साइबर र मानव बेचविखन अनुसन्धान ब्यूरोको शुभारम्भ

  • 24
    Shares

काठमाडौँ, ३० वैशाख । समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी प्रधान कार्यालयले स्थापना गरेको केन्द्रीय साइबर ब्यूरो र मानव बेचविखन अनुसन्धान ब्यूरोको शुभारम्भ गरिएको छ ।

सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यमा दुई ब्यूरो स्थापना गर्न वजेट विनियोजन गरेसँगै स्थापना गरिएका दुई ब्यूरोको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुभारम्भ गरेका हुन ।

कार्यक्रममा महानिरीक्षक खनालले सामाजिक सञ्जालको प्रयोगसँगै पछिल्लो समयमा बढ्दै गएको साइबर अपराध नियन्त्रण र वैदेशिक रोजगारीसँगै बढ्दै गएको मानव बेचविखनलाई रोकथाम गर्न दुई ब्यूरोको महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “नागरिकप्रति सेवा प्रदान गर्न दुबै व्यूरोको महत्व बढेर गएकाले उक्त व्यूरो स्थापना गरिएको हो,”–उनले भने । दुबै व्यूरोलाई चाँडै नै देशव्यापी रुपमा विस्तार गर्न प्रहरी प्रधान कार्यालय लाग्ने उनको भनाई छ ।

महानिरीक्षक खनालले मुलुकको जनसंख्याको अनुपातमा ११५ प्रतिशत बढी इन्टरनेट चल्ने गरेको बताउँदै इन्टरनेटसँगै बढ्ने साइबर अपराध नियन्त्रणका लागि ब्यूरोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरी पौडेलले नेपाल प्रहरीलाई जनतासँग जोड्न दुई ब्यूरोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले नेपालीको गरिबीको गलत फाइदा उठाउँदै टोलटोलका मानिसहरु दलालीको शिकार बन्ने गरेको बताउँदै यस्ता दलालविरुद्ध कानूनी कठोरता आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यागमन विभागले ब्यूरोसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाई थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले वैदेशिक रोजगारको नाममा हुने मानव बेचविखनमा संलग्न संस्थालाई कठोरताका साथ कारबाही गरिने बताए ।

सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले आम ब्यूरोको स्थापनासँगै समाजमा हुने अपराधमा न्यूनीकरण हुने बताए ।

केन्द्रीय साइबर ब्यूरोका प्रमुख, प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत अपराध नियन्त्रणमा दुबै ब्यूरोलाई भरपुर उपयोग गरिने बताए ।

आजदेखि सञ्चालमा आएका ब्यूरोमध्ये केन्द्रीय साइबर ब्यूरोमा प्रहरी नायव महानिरीक्षकको नेतृत्व र मानव बेचविखन अनुसन्धान ब्यूरोमा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा काम सुरु भएको छ ।