नेकपाको जनवर्गीय संगठनको भागबन्डा :संगठनको संयोजक र सहसंयोजक तोकिए

  • 6
    Shares

जेठ २, २०७६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकाशं जनवर्गीय संगठनहरूको एकता टुंगो लगाएको छ।पार्टी एकता भएको एक वर्ष पुग्नु अघिल्लो दिन बसेको सचिवालय बैठकले साविकका एमाले र माओवादीको संगठनलाई एकीकृत तुल्याएको हो।

शुक्रबार नेकपा एकीकरण भएको एक वर्ष पुग्दैछ। एमाले र माओवादीबीच कसलाई कुन संगठन दिने भन्ने टुंगो लागेको थिएन। त्यस्तै, जनवर्गीय संगठनमा नेतृत्व लिन होडबाजी देखिएको थियो।

एकीकरणपछि विद्यार्थी संगठनमा ऐन महर संयोजक भएका छन्। महर एमाले निकट अनेरास्ववियूका महासचिव थिए।

अध्यक्ष नविना लामा भने सांसद छिन्।सहसंयोजक भने अनेरास्ववियू क्रान्तिकारीका रञ्जित तामाङ भएका छन्।यस्तै, नेकपाको युवा संगठनको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दिपशिखा’ संयोजक तोकिएका छन्।उनी तत्कालीन माओवादी वाइसिएलका अध्यक्ष हुन्।

युवा संघका अध्यक्ष रमेश पौडेल सहसंयोजक तोकिएका छन्। त्यस्तै, महिला भातृ संगठनको संयोजक अमृता थापा भएकी छिन्। उनी माओवादी भातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्ष थिइन्।

सहसंयोजक साविकको एमालेले पाएको छ।सीता पौडेल सहसंयोजक भएकी छिन्।मजदूर संगठनको संयोजक विनोद श्रेष्ठ चयन भएका छन्। सहसंयोजकमा जगत सिम्खडा चुनिएका छन्।मजदूर संगठनको नेतृत्व साविकको एमालेले पाएको छ।

त्यस्तै, पत्रकारतर्फको भातृ संगठनको नेतृत्व पनि साविकको माओवादीले पाएको छ।प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल संयोजक तोकिएका छन्।प्रेस चौतारीका गणेश बस्नेत सहसंयोजक भएका छन्।बुद्धिजिवी संगठनमा दिनेशचन्द्र देवकोटा संयोजक चुनिएका छन्। देवकोटा तत्कालीन एमालेका हुन्।सहसंयोजक तोकिएका कृष्ण केसी माओवादीका हुन्।

पेशागत महासंघ पनि तत्कालीन एमालेले पाएको छ।विश्वनाथ प्याकुरेल संयोजक भएका छन्। ईश्वरी भण्डारी साविकको माओवादीबाट सहसंयोजक तोकिएका छन्।जनसाँस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक तोकिएका छन्। उनी एमालेका हुन्। सहसंयोजकमा सरल सहयात्री चयन भएका छन्। उनी माओवादीका हुन्।

मुस्लिम संगठनको संयोजक तत्कालीन एमालेले पाएको छ। सिराज महम्मद फारुकी संयोजक चयन भएका छन् भने तत्कालीन माओवादीका अत्तहर हुसेन फारुकी सहसंयोजक बनेका छन्।दलित संगठनको जिम्मेवारी तत्कालीन माओवादीका तिलक परियारले पाएका छन्। उनी संयोजक चयन भएका छन्। सहसंयोजक तत्कालीन एमालेका ओमबहादुर विश्वकर्मा भएका छन्।

निर्माण व्यवसायी संगठनमा साविकको एमालेका यज्ञध्वज कार्की संयोजक र सहसंयोजकमा तत्कालीन माओवादीका शिवप्रसाद चौंलागाईलाई जिम्मेवारी दिइएको छ।आदिवासी जनजाति महासंघमा तत्कालीन माओवादीका सुरेश आलेमगरले जिम्मेवारी पाएका छन्।

मोहन वैद्य नेतृत्वको माओवादीबाट आलेमगर प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए। सहसंयोजक तत्कालीन एमालेका शेरबहादुर तमाङ भएका छन्।

अपांग संगठन तत्कालीन माओवादीका ईन्द्रमाया गुरुङले जिम्मेवारी पाएका छन्।सहसंयोजक तत्कालीन एमालेका रामप्रसाद ढुंगाना भएका छन्।

खेलकूदतर्फको भातृ संगठनमा पूर्वमन्त्री समेत रहेका एमालेका एमालेका पुरुषोत्तम पौडेलले संयोजकको जिम्मेवारी पाएका छन्। सहसंयोजकमा माओवादीका शिव कोइराला भएका छन्।

उद्योग व्यवसायी महासंघमा साविक एमालेका लक्ष्मीदास मानन्धर संयोजक र सह संयोजक तत्कालीन माओवादीका श्याम पाठक भएका छन्।

प्रवासी नेपाली मञ्च भारतको संयोजक पदमा साविक एमालेका लोकनाथ भण्डारी संयोजक र सहसंयोजकमा ईश्वरी भण्डारी चयन भएका छन्।

सुकुम्वासीतर्फको भातृ संगठनमा पनि साविक एमालेकै रामप्रित पासवान संयोजक भएका छन्। सहसंयोजकमा तत्कालीन माओवादीका पदम देवकोटा चयन भएका छन्।

 भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा तत्कालीन एमालेका धनबहादुर चन्द संयोजक तोकिएका छन्। सहसंयोजक तोक्न बाँकी छ। नेकपाको सचिवालय बैठकले संयोजक र सहसंयोजक टुंगो लगाएको हो।

प्रकाशित : २०७६, २ जेष्ठ बिहीबार २१:१२