जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • 7
    Shares

रुपन्देही, १९ जेठ समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत बुटवलको दियालो फुडल्यान्डमा जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त आयोजनामा रुपन्देहीस्थित कान्ति मावि, उजिर सिंह मावि र कालिका मानव ज्ञान माविमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले बढ्दो शहरीकरण र आधुनिकीकरणसँगै लागूपदार्थ दुर्व्यसन, घरेलु हिंसा, मानव बेचबिखन, सामाजिक संजालको दुरुपयोगबाट हुने विद्युतिय अपराधहरु बढ्दै गइरहेकोले यस्ता अपराधबाट सचेत रहनुपर्ने बताईन ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई केन्द्रदेखि टोलसम्म क्रियाशील र जनकेन्द्रित बनाउने नेपाल प्रहरी श्रीमती संघको उद्धेश्य रहेको समेत उहाँले चर्चा गरिन ।

सो अवसरमा रुपन्देही जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले समेत समुदाय(प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा लागूऔषध दुर्व्यसन, घरेलु हिंसा र यौन हिंसा लगायतका विषयमा प्रहरी निरीक्षक पुर्णिमा चन्दले प्रस्तुतीकरण गरेका थिए ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६, १९ जेष्ठ आईतवार १९:०२