पर्यटक प्रहरीको आयोजनामा अनुशिक्षण कार्यक्रम सम्पन्न

  • 104
    Shares

चितवन, २४ जेठ । नागरिकमैत्री प्रहरी सेवा विस्तार गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–२२ पटिहानीमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन विभागको सहयोग तथा पर्यटक प्रहरी इकाई भृकुटीमण्डपको आयोजना समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार पहिटानीको कसरा रिसोटमा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पर्यटकीय क्षेत्र पटिहानीको सुरक्षाका लागि प्रहरीले समुदायको सहकार्यमा सेवा प्रदान गर्नुपर्ने बताए । “नेपाल भ्रमण वर्ष सफल बनाउन अनुशिक्षण कार्यक्रमले सहयोग पुग्नेछ,”–उनले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले चितवनको शान्ति सुरक्षालाई व्यवस्थित बनाउन नेपाल प्रहरी स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

भरतपुर महानगरपालिका–२२ का अध्यक्ष विष्णुराज महतोले वडाबासी र स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षाका लागि सुरक्षा निकायसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।

पर्यटन प्रहरी ईकाई भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले देशका २७ स्थानबाट प्रहरीले स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षको दश महिनामा पर्यटक प्रहरीमा देशभरबाट ५४७ उजुरी परेको बताउनुभयो । पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरी सँधै दृढ रहेको उनको भनाई थियो ।

कार्यक्रममा पर्यटकलाई परेको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा पर्यटक प्रहरी, स्थानीय प्रहरी एवं पर्यटनसँग सम्बद्ध निकायका प्रतिनिधिहरुलाई अनुशिक्षण प्रदान गरिएको थियो ।

प्रकाशित : २०७६, २४ जेष्ठ शुक्रबार २२:१८