नेपाल प्रहरीद्धारा विपद् व्यवस्थापनमा उल्लेख्य काम

  • 8
    Shares

रोसन दानी काठमाडौँ, ६ असार  नेपाल प्रहरीले स्रोत र साधनको अभावका बीच पनि विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य काम गरेको बताइएको छ ।
काठमाडौँ महानगरपालिका–३ को सहकार्यमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाले आज यहाँ आयोजना गरेको ‘वृहद रक्तदान कार्यक्रम’मा विपद् व्यवस्थापनमा प्रहरीले धेरै काम गरेको बताइएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ठूले राईले समूदायको सहकार्य गरेर प्रहरीले विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य काम गरेको बताए ।

“कुनै व्यक्तिलाई आकस्मिक रगत चाहियो भने नेपाली सेना र नेपाल प्रहरीले तत्काल उपलब्ध गराउने हुँदा आम जनताको भरोसाजन्य संगठन नेपाल प्रहरी बनेको छ,”–उनले भने ।

काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दिपक केसीले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य गर्न स्थानीय सरकार तयार रहेको बताए ।

विस २०७५ मा मात्र विपद्का कारण मुलुकभर ३८८ जनाले ज्यान गुमाउनुका साथै एक हजार ३०५ व्यक्ति घाइते र १० जना वेपत्ता भएको महाशाखाका प्रमुख दिलिपकुमार चौधरीले जानकारी दिए ।

विस २०६८ सालमा विपद् व्यवस्थापन शाखाको रुपमा स्थापना भएको विपद् व्यवस्थापन महाशाखा विस २०६९ सालमा प्रतिकार्य दल हुँदै विस २०६९ माघमा महाशाखाको रुपमा काम शुरु गरेको हो ।

सोही अवसरमा ८८ जनाले रक्तदान गरेको महाशाखाका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

प्रकाशित : २०७६, ६ असार शुक्रबार २०:०१