देशभर विपद्का घटनामा वृद्धि, दुई महिनामा ६९ को मृत्यु

  • 5
    Shares

काठमाडौँ, ७ असार  कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ ।

विस २०७६ को वैशाख र जेठ महिनामा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाईते तथा दुई जना वेपत्ता भएका छन् ।

नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरो चार, चट्याङ २३, जनावर आक्रमण सात, महामारी एक, हावाहुरी आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीनजनाको मृत्यु भएको हो ।

यस्तै, आगालागी ३५, पहिरो दुई, चट्याङ १२८, जनावर आक्रमण ३२, हावाहुरी १४१, हिमपहिरो एक र अन्य विपद्का कारण चार जना घाइते भएका छन् ।

प्रहरीले दिएको तथ्याङ्कअनुसार दुई महिनाको अवधिमा आगालागीबाट रु ९९ करोड ३४ लाख ९१ हजार ४९०, बाढीबाट रु एक करोड ९७ लाख, पहिरोबाट रु १३ लाख ४५ हजार, चट्याङबाट २३ लाख १४ हजार, जनावर आक्रमणबाट रु चार लाख ४० हजार, हावाहुरीबाट रु चार करोड ९० लाख २४ हजार ९५० रकम बराबरको आर्थिक तथा भौतिक संरचना क्षति भएको छ ।

विस २०७५ वैशाखदेखि चैतसम्म मात्र विपद्का कारण ३८८ जनाको मृत्यु हुनुका साथै एक हजार ३०५ घाइते तथा १० जना वेपत्ता भएका छन् ।

यस्तै, तीन हजार १७५ चौपाय क्षति, दुई हजार ५१६ घर क्षति, ५०९ घरपरिवार विस्थापीत र रु दुई अर्ब ५१ करोड एक लाख २७ हजार बराबरको आर्थिक तथा भौतिक संरचना क्षति भएको थियो ।

नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलिपकुमार चौधरी नेपाल विपद्को उच्च जोखिमको क्षेत्र रहेको बताए । “नेपाल प्रहरीले सीमित स्रोत र साधनका वावजुद पनि विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य काम गरेको छ,”–उनि भन्छन ।

विस २०६८ चैतमा नेपाल प्रहरीको विपद् व्यवस्थापन शाखाका रुपमा स्थापना भएको महाशाखा विस २०६९ मा प्रतिकार्य दल हुँदै सोही वर्ष विपद् व्यवस्थापन महाशाखाको रुपमा परिणत भएको हो ।

प्रहरीको विपद् व्यवस्थापनतर्फ हाल एक हजार ३२२ दरबन्दी रहेको छ । जसमा केन्द्रमा ४४७ र सातै प्रदेशमा विपद् व्यवस्थापन गुल्म स्थापना गरेर १२५ जनाको दरबन्दी रहेको छ । जसले विपद् व्यवस्थापनको क्षेत्रमा तालिम प्रदान गर्दै आइरहेको छ । जहाँ प्रहरी निरीक्षक प्रमुख रहने व्यवस्था गरिएको छ ।

महाशाखाका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडा महाशाखाले प्राथमिक उपचार, खोज तथा उद्दार, कुकुर परिचालन, पर्वतीय खोज तथा उद्दार, डोरीबाट खोज तथा उद्दारका साथै पौडी टोलीलाई आवश्यक तालिम प्रदान गर्दै आएको बताए ।

असार लागेसँगै देशभर नै मनसुन सक्रिय भई भारी वर्षा हुने क्रमसमेत शुरु हुन थालेको छ । मनसुनका कारण वर्षा बढी हुने क्रम शुरु भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको देखिन्छ ।
विपद् व्यवस्थापन विज्ञ एवं भूगर्भ्िवद् डा कृष्ण देवकोटा बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको बताए ।
प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको मात्रामा वृद्धि भएको उनको भनाई छ ।

डा देवकोटा महाभारत श्रृङ्खला र चुरे क्षेत्रमा एकखाले दरार पैदा हुने कारणले पहिरो बढी जाने गरेको बताए। दरारलाई नियन्त्रण गर्नका लागि वन संरक्षण तथा बायो–इन्जिनियरिङ गर्नुपर्ने उनको भनाई छ । मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम रहेको छ ।

प्रकाशित : २०७६, ७ असार शनिबार १७:३१