मकालु पहिरो : २९ परिवार विस्थापित, २२ घर उच्च जोखिममा, हेलिकप्टरबाट राहत सामग्री लगिँदै

हेलिकोप्टर र सेनाको उद्धार टोली जादै

  • 7
    Shares

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा पहिराले २९ घर परिवार विस्थापित भएका छन् । असार १ र २ गते लगातार २४ घण्टा भन्दा बढी परेको पानीले गाउँपालिका–५ पेपुवाका चार गाउँका २९ परिवार पहिरोबाट विस्थापित भएका छन् । भने २२ घर उच्च जोखिममा परेको ५ नम्बर वडाका अध्यक्ष जापान गुरुङले जानकारी दिए ।

पहिरोले पेपुवाका २९ घर परिवार विस्थापित भएपछि एकै ठाउँमा भेला भएर रातभर जागारम बस्ने गरेको वडा अध्यक्ष गुरुङले बताए । पेपुवाका चारैतिर पहिरो झरेकाले स्थानिय त्रसित भएको उनले बताए । कुनै पनि बेला माथिबाट पहिरो खस्ने भएकाले पेपुवाका चार गाउँका २९ घर परिवारलाई सुरक्षित स्थानमा सारिने वडा अध्यक्ष राईले बताए ।

पहिरोको उच्च जोखिममा परेका २२ परिवार पनि घर छाडेर नजिकैको खुल्ला स्थानमा पाल टाँगेर बसिरहेको उनले बताए । गैरी गाउँ, रुपसाङ गाउँ, सिरान गाउँ र डाडाँ गाउँका २९ परिवार अहिले खुल्ला ठाउँमा बसिरहेको गुरुङले बताए । पिडीतहरु घर छाडेर अन्यत्र बसे पनि पानी पर्न थालेपछि पहिरोले सिंगो गाउँनै बगाला कि भन्ने डरले भगवानको नाम पुकार्दै बसिरहेको उनको भनाइ छ ।

उनले भने, ‘सिंगो गाउँलाई नै पहिरोले चिरा चिरा परेको छ जाउँ भने कता जाउँ बसौ पहिरोले लग्ला भन्ने डर त्रास छ ।’ पहिरोले नयाँबस्ती, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानीका कतिपय घरपरिवार जोखिममा परेका छन् । पहिरोले मकालु–५ का दुई घर समेत बगाएको थियो ।

आइतबार हेलिकप्टरबाट राहत सामग्री लगिँदै 
पहिरोको उच्च जोखिममा परेका २९ घर परिवारलाई गाउँपालिकाले आइतबार हेलिकप्टरबाट राहत सामग्री लग्ने भएको छ । गाउँपालिकाले पहिरोको उच्च जोखिम भएका २९ परिवारलाई हेलिकप्टरबाट दाल, चामल, नुन, तेल, पाल, भाडाँकुडा जस्ता राहत सामग्री वितरण गरिने वडा नम्बर ५ का अध्यक्ष जापान गुरुङले जानकारी दिए ।

पहिरोको उच्च जोखिममा परेको २९ परिवारका बृद्ध र बालवालिकाहरुलाई हेलिकप्टरबाट गाउँपालिका कार्यालय नुम ल्याइने वडा अध्यक्ष गुरुङले बताए । गाउँपालिकाले सदरमुकाम खाँदबारीमा राहत सामग्री खरिद गरेर आइतबार नेपाली सेनाको हेलिकप्टरबाट लग्न लागेको हो ।

प्रकाशित : २०७६, ७ असार शनिबार १९:२०