दुई अध्यक्षबीच परामर्श

  • 10
    Shares

पार्टीमा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रीमण्डल हेरफेरका विषयमा कुरा भएको बालुवाटार स्रोतले बताएको छ।

गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत नमिलेपछि नेताहरू निर्णय नगरी उठेका थिए।

त्यसलगत्तै चितवन गएका अध्यक्ष प्रचण्ड मंगलबार काठमाडौं फर्केपछि आज दुई अध्यक्षबीच परामर्श भएको हो।

पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न तहका नेताहरूसँग बालुवाटारमै बसेर छलफल गरिरहेका छन्।

उनले अहिले सरकारभन्दा पनि पार्टी अध्यक्षको हैसियतमा छलफल गरिरहेको र विवाद देखिएका विषयलाई कसरी सल्टाउने भनेर परामर्श गरिरहेको बालुवाटार स्रोतले जानकारी दियो।

यस्तै प्रचण्डले पनि आफूनिकट नेताहरूसँग पार्टीभित्रै अबको आफूहरूको भूमिका कस्तो रहने भन्नेबारे छुट्टाछुट्टै छलफल गरिरहेका छन्।