‘स्वर्गीय ढकाल लोकतन्त्रप्रतिको निष्ठाका आदर्शपुरुष’

२१ असार,काठमाडौँ  । नेपाली काङ्ग्रेस रुपन्देहीका पूर्व जिल्ला सदस्य प्रजातन्त्र सेनानी स्वर्गीय भास्कर शर्मा ढकाल लोकतन्त्रप्रतिको निष्ठाका आदर्शपुरुष भएको बताइएको छ ।
स्वर्गीय ढकालको नवौँ पुण्य तिथीका अवसरमा नेपाली काँग्रेस रुपन्देही जिल्ला कार्यसमितिले शुक्रबार रुपन्देहीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा लोकतन्त्र प्राप्तीको लागि ढकालको महत्वपूर्ण योगदान रहेको बताइएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वर्गीय ढकालजस्ता प्रजातन्त्रका सेनानीहरुले नेपालमा लोकतन्त्रको स्थापनका लागि आफ्नो जीवन उत्सर्ग गरेर प्रजातन्त्रको बाटोमा देशलाई अगाडि बढाएको बताए । “ढकालजस्ता प्रजातन्त्र सेनानीलाई पार्टीले सम्मान गर्नुपर्छ,”–उनले भने ।

काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले प्रजातन्त्रको निष्ठाप्रति प्रतिवद्ध स्वर्गीय ढकालले सामाजिक तथा राजनीतिक क्षेत्रमा दिएको योगदान महत्वपूर्ण रहेको बताए ।
काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले स्वर्गीय ढकाल उच्च आत्मवल भएका नेपाली काँग्रेसका इमान्दार योद्धा भएको बताउनुभयो । काँग्रेस रुपन्देहीका नेता मणिप्रसाद शर्माले २०४२ को सत्याग्रह, २०४६ को आन्दोलन र २०६३ को जनआन्दोलनमा स्वर्गीय ढकालको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

विस २०४० फागुन २० गते रुपन्देहीमा काँग्रेस तत्कालिन नेता गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, शैलजा आचार्यमाथि पञ्चायतले आक्रमण गर्दा स्वर्गीय ढकालले नेतालाई आक्रमण हुनबाट बचाएका थियो । नेपाल इतिहासमा उक्त काण्ड चर्चित सुरजपुरा काण्डका रुपमा प्रख्यात रहेको छ ।
पुष्पानन्द गिरीको नेतृत्वमा रहेको रुपन्देही काँग्रेसले विपी कोइरालासँग सिधै सम्पर्क गर्दा स्वर्गीय ढकाल अगुवा कार्यकर्ताका रुपमा काम गर्ने गर्दथे । पर्वतमा जन्मेका ढकालका श्रीमति, तीन छोरा÷बुहारी, एक छोरी÷ज्वाईँ र नातीनातिना रहेका छन् ।