९ जनाको सेनाद्धारा उद्धार,सेनाका उपरथि भट्ट आफै फिल्डमा

धनुषा : कमला नदीमा फँसेकाहरुको उद्धार गरिएको छ । धनुषाको सघारा र सिरहाको बस्पिटटा बीच कमला नदीमा निर्माणाधीन हुलाकी सडकको पुल बनाउने क्रममा बाढीमा फँसेका ईन्जिनियर सहित ९ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाका उपरथि नरेश भट्ट आफै फिल्डमा खटिएका थिए ।

बिहीबार साँझदेखि बाढीमा फँसेका उनीहरुलाई ३३ घण्टापछि नेपाली सेनाको हेलिप्टरले उद्धार गरेको धनुषाका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

नदीमा बाढीको बहाब उच्च भएपछि निस्किन नसकेका उनीहरुलाई हिजोदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरले प्रयास जारी राखेका थिए ।

तर नदीमा पानीको बहाव उच्च भएकाले सफल हुन सकेको थिएन भने मौसम खराबीको कारण हेलिकप्टर आउन नसक्दा उद्धारमा समस्या भएको थियो । यस्तै बिहीबारदेखि नै कमला नदीमा फँसेका ९ जना सर्वसाधाराणको शनिवार उद्धार गरिएको छ ।

धनुषाको सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाको सक्रियतामा सिरहा कल्याणपुर नगरपालिका–५ निर्दनाका ५ जना र धनुषाको कमला नगरपालिका ७ का ४ गरी ९ जनलाई उद्धार गरिएको हो । उनीहरुलाई नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ ।