धनगढीमा शक्तिशाली बम विष्फोट, ५ जना घाइते

२ साउन, धनगढी । कैलालीको धनगढीस्थित निलम होटलमा बिहीबार साँझ विस्फोट भएको छ । प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । उक्त विस्फोटमा पाँच जना घाइते भएका हुन । घाइते पाँचै जनाको धनगढीस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यहाँ ’स्टिल कन्टेनर’(टिफिन बक्सजस्तो बीचमा प्वाल पारेर विस्फोट गराउन प्रयोग गरिने) बम विस्फोट भएको कैलालीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले सिन्युज नेपाललाई जानकारी दिए । प्रहरी उपरीक्षक गिरीका अनुसार घटनास्थलबाट नाइन एमएमको पस्तोलसमेत प्रहरीले बरामद भएको बताए ।

घाइतेमध्ये दुई जना विप्लव समूहकै भएको पुष्टि भएको छ । घाइते लक्ष्मण सेराला र राम सिंह दुबैजना विप्लव समूहका कञ्चनपुर जिल्ला सदस्य रहेको समेत खुलेको छ । घाइते हुनेहरूमा राम सिँह( बझाङ (विप्लब समूह),लक्ष्मण सेरला ( बेलौरी ५ कन्चनपुर (विप्लब समूह),मोबिन खान (ठेगाना नखुलेको), जितेन्द्र यादव ( धनगढी ४ बोराडाँडी), केशवराज पाण्डे ( होटल मालिक रहेको प्रहरीले जनाएको छ ।


स्रोतका अनुसार उनीहरुले उक्त बम पहाडतिर लैजाने तयारी गरेका थिए । पहाड जानका लागि तयार भएका र खाना खान उक्त होटलमा छिरेका थिए । दुईजनामध्ये एकजनाले झोला भिरेका थिए । उक्त झोलामा भएको बम एयाम र पीएम त्रुटीवश पड्किएको जनाइएको छ ।

घाइते दुबै जना पूर्व जनमुक्ति सेनाका लडाकु रहेकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए ।