नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ

२ साउन, काठमाडौं  /  काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा झापा बिर्तामोड चारआली बस्ने २२ वर्षीय आकाश लिम्बू र काठमाडौँ गोङ्गबु बस्ने २४ वर्षीय विशाल मगर रहेका बताए ।

उनीहरुमध्ये लिम्बूको साथबाट लागुऔषध ब्राउनसुगर ५.८४ ग्राम र मगरको साथबाट लागुऔषध ब्राउनसुगर ०.४० ग्राम बरामद भएको बृत्त प्रमुख थापाले जानकारी दिए ।

काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ६३७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लिम्बू र मगरलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको थानकोट प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–३ मैतीदेवी मन्दिर परिसरमा बस्दै आएका काभ्रेपलाञ्चोक घर भएका ४९ वर्षीय विष्णुबहादुर तामाङ आज मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, २ श्रावण बिहीबार २३:५४