ट्राफिक प्रहरीले गल्ती गर्छन भने मलाई भन्नू म कारवाही गर्छु : महानिरीक्षक खनाल

रोसन दानी प्रहरी महानिरीक्षक(आइजीपी) सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खबर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गरे। उनले भने “ट्राफिक प्रहरीकाे कुनै गुनासाे भए मलाई सिधै भनु गल्ती छ भने तुरुन्त कारवाही हुन्छ ।”

शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा गलत रवैया नदेखाउन पनि ट्राफिक प्रहरीहरूलाई सचेत गराए।

जनताको लागि निःशुल्क सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन दिन नमिल्ने प्रहरी महानिरीक्षक खनालको भनाइ छ।

प्रहरी महानिरीक्षक खनालले सडक दुर्घटना हुन नदिन सवारी चालकहरूलाई पनि आग्रह गरे। त्यस अवसरमा उनले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्णरूपमा नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित : २०७६, ३ श्रावण शुक्रबार १९:१७