बाढीबाट क्षति भएको पानीको मुहान र पाइपलाइनको मर्मत गरिंदै

  • 16
    Shares

काठमाडौं, ६ साउन  केही दिनअघि काठमाडौं उपत्यकामा आएको बाढीका कारण ललितपुर क्षेत्रमा बढी क्षति पुगेका खानेपानी वितरण प्रणालीहरुको काम सुचारु भईरहेको छ ।

बाढीले ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण केही दिनदेखि ललितपुर क्षेत्रमा खानेपानी आपूर्ति हुन सकिरहेको छैन ।

ललितपुर क्षेत्रमा खानेपानीको अभाव चर्किंदै गएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले देवकी र बासुकी मुहानको मर्मतलाई तीव्रता दिईरहेको छ ।

बाढीका कारण देवकी र बासुकी मुहानमा पुरै क्षति पु-याएको थियो भने नल्लुमा करिब साढे २ किलोमिटर पाइप लाइन बगाएको थियो ।

केयुकेएलको ललितपुर शाखाका प्रमुख डा. डोलप्रसाद चापागाईले तत्कालका लागि देवकी र बासुकी मुहानको मर्मत गरी करिब ५० प्रतिशत पानी चापागाउँको रिजर्भवायर ट्यांकीमा पानी खसाल्न सकिएको जानकारी दिनुभयो ।

‘तत्काल देवकी र बासुकी मुहानको मर्मत गरिरहेका छौं । यी दुई मुहानको मर्मत गरेर भएपनि ललितपुर क्षेत्रमा पानी वितरण गर्ने तयारी गर्दैछौं, शाखा प्रमुख चापागाईंले भन्नुभयो, ‘उता फर्पिङमा पहिरोले मुहान र पाइप बगाएर पुरै क्षति पु-यायो । त्यसको पनि मर्मत गर्दैछौं । तत्कालका लागि २–३ दिनभित्र नै खानेपानीको आपूर्ति सहज हुन्छ ।’

बाढीले क्षति पु-याएको मुहान र पाइपलाईनको विषयमा अध्ययन तथा अनुगमन गर्दै आउनुभएका काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जिव विक्रम राणाले बाढीबाट मुहान र पाइपलाईनमा गरी करिब ३ करोड ७१ लाख बराबरको क्षति भएको जानकारी दिनुभएको छ ।

केयुकेएलले फर्पिङबाट पानी पम्पिङ गरी ललितपुरका विभिन्न सहरबजारमा खानेपानी वितरण गर्ने गरेको छ भने देवकी, बासुकी र नल्लुबाट आउने पानी ललितपुरको चापागाउँस्थित रिजर्भवायर ट्यांकीमा खसाली त्यहीँबाटै वितरण गर्ने गरेको छ । फर्पिङबाट पम्पिङ गरेर ल्याइएको पानी  ललितपुरका पश्चिमतिरका केही ठाउँहरुमा समेत वितरण गर्ने गरिएको छ ।

प्रकाशित : २०७६, ६ श्रावण सोमबार १९:३९