सुर्खेतबाट एक सय ९ जना लागुऔषधसहित पक्राउ

तस्वीरः आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा हालसम्मका प्रयास बारेमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय।

लागुऔषध नियन्त्रणका क्रममा चालू आर्थिक वर्षको हालसम्म सुर्खेतबाट एक सय ९ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हालसम्म ९५ जना पुरुष र १४ जना महिला विभिन्न प्रकृतिका लागुऔषधसम्बन्धी क्रियाकलापका क्रममा पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रणकै क्रममा प्रहरीले ९३ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, साढे ६ किलोग्राम चरेश, १८१ ग्राम गाँजा, १५७ ग्राम नाइट्रोसन जिल्लाभित्रबाट बरामद गरेको छ।

यस्तै, सुर्खेतको लामीडाँडामा अवैध रूपमा खेती गरिएका एक लाख अफिमका बिरुवा समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ  । कार्यालयका अनुसार हालसम्म लागुऔषधसम्बन्धी ६४ मुद्दा प्रहरीमा दर्ता भएका छन्।

जिल्लामा गुण्डागर्दी गर्ने २०४ जनामाथि कानुनबमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जसमध्ये १९६ जना पुरुष रहेका छन् भने ८ जना महिला छन्। गुण्डागर्दीसम्बन्धी १३८ मुद्दा जिल्ला प्रहरीमा दर्ता भएका छन्।

घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालू आर्थिक वर्षको हालसम्म ५ हजार ६३६ लिटर घरेलु मदिरा तयार पार्न प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ भने १० हजार २४२ लिटर घरेलु मदिरा नष्ट गरेको छ।

घरेलु मदिरामा प्रयोग गरिने औषधि २८७ किलोग्राम नष्ट गरिएको प्रहरीले जनाएको छ।

यस्तै, ८७ थान घरेलु मदिरा बनाउने भाँडा पनि प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रण गरिएका सामग्री र घरेलु मदिराको परिमाण अनुसार गरिएको कारबाहीका क्रममा ६० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

हालसम्म विभिन्न ठाउँबाट गरी २ हजार १८६ क्युफिट अवैध रूपमा ओसारपसार गर्न लागिएको काठ नियन्त्रणमा लिई डिभिजन वन कार्यालय वीरेन्द्रगनरमा कारबाहीका लागि पठाइएको डिएसपी क्षेत्रीले जानकारी दिएका छन्।

अवैध नदीजन्य पदार्थ ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले गरेको कारबाहीका क्रममा २ लाख ५१ हजार ८८० रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने गरेका साधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाउने गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको हालसम्म सुर्खेतबाट ८२ जना जुवातास काण्डमा पक्राउ परेका छन्।

उनीहरूको साथबाट १२ लाख ९८ हजार ९३३ रुपैयाँ नगद बरामद गरिएको छ। जुवाताससम्बन्धी १२ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको सूचना अधिकारी (डिएसपी) क्षेत्रीले जानकारी दिए ।