मन्त्री-प्रधानमन्त्री हुनेको लागि मात्रै देशमा समृद्धि छ: अध्यक्ष केसी

काठमाडाैँ, १० साउन । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले देशको विकासका लागि कानून व्यसायीहरु गोलबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

अखिल नेपाल कानून ब्यवसायी संघको प्रथम राष्ट्रिय सम्मेलन २०७६ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले अल्पसंख्यक व्यक्तिले बहुसंख्यक जनतामाथि शोषण गर्ने परिपाटी हावी भएको हुँदा सत्य निस्पक्ष तथा विवादरहित न्यायका लागि सबै कानून व्यसायीहरु गोलबद्ध बनी देशमा सत्य र न्यायको पक्षमा वकालत गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष केसीले राजनीति पाटीको भागवण्डामा न्यायाधीश र प्रधान न्यायाधीश वनाउने यो मुलुकमा सत्य र निस्पक्ष न्यायका लागि ‘न्याय नपाए गोरखा जानुपर्ने’ अवस्था कहिलेसम्म रहने भन्दै प्रश्न गरे ।

फरक प्रसंगमा केसीले देशमा कम्युनिस्टको नामा दलाली गर्ने कम्युनिस्टले शासन गर्दैमा देश बिकासको गतिमा नलम्कने जिकिर गरे ।

उनले भने , ‘मन्त्री, प्रधानमन्त्री हुनेको लागि मात्र देशमा समृद्धि अाएको छ, बाँकी ९० प्रतिशत जनता मात्र गरिबीको रेखामुनि बस्नुपरेकाे अवस्था छ । हेर्नुस् त बिडम्बना- कतिको न्याय छ यो देशमा ? राजनीतिमा ब्यवस्था र व्यक्ति बदलियो तर प्रवृत्ति बदलिएन ।”

अध्यक्ष केसीले देशमा विदेशी शक्ति केन्द्रको इसारमा संघियता नेपालीको हित विपरित आएको र अहिले देशमा द्वन्द्व चाहानेहरुले संघियताको घाँडो बोकाएर देशलाई अस्थिर बनाउने खेल भईरहेको जिकिर गरे ।

‘देशका गरिब जनताहरुलाई करको भारी बोकाएर समृद्धिको झुटो आस्वासन देखाएको धेरै भयो,’ मेलम्चीको प्रसंग कोट्याउँदै अध्यक्ष केसीले भने, ‘राजधानीका सचेत व्यक्तिहरूलाई त केही नेताहरुले चुनावी नारा बनाउँदै, माछा-माछा भ्याकुता गर्छन् भने कर्णाली र जुम्ला-हुम्लाका व्यक्तिकाे कुन हबिगत बनाएका छन् यो सरकारमा बस्नेहरुले ।’

राजनीति पैसा कमाउने व्यवसाय भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले शासन व्यक्तिको नभई विधीको हुनु पर्नेमा जोड दिए ।

निर्मला हत्या काण्ड आज एक बर्ष बितिसक्दा पनि सरकार गम्भीर रहेको र गृहमन्त्रीले पत्रकार सम्मेलनको बेलामा निर्मलाका विषयमा बोलेको शब्द हरेक कुरा आपत्तिजनक रहेको समेत उनकाे तर्क छ ।

सरकार सञ्चालनमा समेत भारतको डरलाग्दो हस्तक्षेप रहेको केसीले जिकीर गरे। ‘तपाईंहरुले भारतबाट आएको बिषादी परीक्षणमा सरकार पछि हटेको त थाह पाईहाल्नुभयो नि?’ केसीले भने, ‘लैनचौरबाट बिषादी परीक्षण नगर्नु भनेर आएको चिठ्ठी प्रधानमन्त्री ओलीले मलाई थाहै छैन भनेर भनेका होइनन्? उनलाई त्यतिका दिनसम्म किन थाह दिइएन? ल, भन्नुस् सरकार कसले चलाएको रहेछ?’

उनले संघीयताको विरोध नगरे आफूलाई १० करोड रुपैयाँ दिने प्रलोभन र संघीयताको विरोध गरे ज्यान मार्ने धम्की दिएको प्रशंग उल्लेख गर्दै केसीले संघीयताले मुलुकलाई ध्वस्त पार्दै लगेको दाबी गरे। उनले स‌ंघीयताकाे भारले जनतालाई थिच्दै लगेकाे भन्दै  जनताकाे ढाड सेक्ने गरी बढेकाे करका कारण नै जनता यसविरुद्ध सडकमा आउने बताए।

केसीले नेपालको न्यायप्रणाली खरिद बिक्रीबाट चलेको आरोप पनि लगाए। त्रिभुवन विश्वविद्यालयले ६ नम्बर पाएको विद्यार्थीलाई पछाडी ९ थपेर ६९ बनाइएको प्रशंग उल्लेख गर्दै केसीले भने, ‘त्यस्तो किन गरेको भन्दा गोल्ड मेडल पाउन अनि न्यायाधीश बन्न।’ केसीले अगाडि थपे, ‘जब पैसा तिरेर मान्छे न्यायाधीश हुन्छ, अनि उसले तपाईं हामी निमुखालाई न्याय दिन्छ की आफ्नो पैसा अशुल गर्न तिर लाग्छ?’

अध्यक्ष केसीले सरकारको गतिबिधिप्रति पनि तिब्र असन्तुष्टि प्रकट गरे। सरकार चारैतिरबाट माफियाको जालमा घेरिएको र जनताका लागि केही गर्न नसकेको उनको टिप्पणी थियो।

यस्तै, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले बर्तमान सरकार र सत्तारुढ दलले आफूलाई कम्युनिष्ट बताएपनि आधारभूत रुपमै कम्युनिष्ट सिद्धान्तबाट च्युत भएको बताए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले महंगी र भ्रष्टाचारका कारण जनताको जनजीविका अत्यन्त कष्टकर बन्दै गएको भन्दै सरकारलाई सच्याउन आन्दोलनको विकल्प नरहेको बताए।

अखिल नेपाल कानुन व्यबसायी संघ(अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल बार एसोसियसनका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराई, प्रगतिशील लयर्स एसोसिएसन (पीएलए) का प्रतिनिधि अधिवक्ता खिमानन्द अधिकारी, प्रजातान्त्रिक कानुन व्यबसायी संघ(डीएलए) का अध्यक्ष अधिवक्ता योगेन्द्र बहादुर अधिकारीलगायतको आतिथ्यता रहेको थियो।

आजबाट सुरु भएको अखिल नेपाल कानून ब्यवसायी संघको प्रथम राष्ट्रिय सम्मेलन भोलि शनिबार नयाँ कार्यसमित चयन गरी सम्पन्न हुनेछ ।