संघीय सांसदहरू रौतहटको बाढी प्रभावित क्षेत्रमा

फाईल तस्विर
  • 17
    Shares

बाढी प्रभावितको अवस्था र क्षतिको अवलोकन गर्न रौतहटमा संघीय सांसद आएका छन्।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रभु शाह, ४ का सांसद देवप्रसाद तिमिल्सेना, क्षेत्र नम्बर १ का सांसद अनिलकुमार झा शनिबार रौतहट आएका हुन्।

बाढी प्रभावित क्षेत्रको अवलोकन गरेपछि सांसदहरूले ग्रामीण भेगमा अहिलेसम्म पनि यातायात सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

बाढी आएको १५ दिन भए पनि अहिलेसम्म सडक मर्मत भएको छैन। केन्द्र र प्रदेश सरकारले बाढी प्रभावितलाई उचित राहत दिन नसकेको र क्षति भएका सडक, विद्युतका पोललगायत मर्मतमा ध्यान नदिएको सांसद प्रभु शाहले बताए।

सांसद तथा राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले बाढीबाट हुने क्षति न्युनिकरणका लागि पटकपटक संसदमा आवाज उठाए पनि सरकारले वेवास्ता गर्दै आएको बताए।

सांसदहरूले बागमती र लालबकैया नदीले कटान गरेका ठाउँको अवलोकन गरेका हुन्। निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिकी सभापति निरादेवी जैरूले बस्ती डुबेपछि राहत बाँड्ने भन्दा डुवान हुनबाटै रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारे योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन्।

प्रकाशित : २०७६, ११ श्रावण शनिबार १८:४१