बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले किन आत्महत्या गरे ?

  • 4
    Shares

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्।

५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनायो।

उनी मालपोत कार्यालयबाट २०६० सालमा रिटायर्ड भएका पूर्वनायब सुब्बा हुन्।

उनको मृत शरीरलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।

‘उनले किन आत्महत्या गरे भन्ने अनुसन्धान भइरहेको छ,’ सुवेदीले भने।

सुवेदीका अनुसार श्रेष्ठ किनमेल गर्न भनी गएका थिए। सोही क्रममा उनी सेन्टरबाट हाम्फालेको सुवेदीले बताए।

प्रधानमन्त्रीको निवास बालुवाटारस्थित ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो।

मालपोत कार्यालय डिल्लीबजारमा रहँदा उनले कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो।

प्रकाशित : २०७६, १२ श्रावण आईतवार १८:३०