ककनी गाउँपालिका– १ को कार्यालयमा बम बिष्पाेट

नुवाकोट – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले नुवाकोटको ककनी गाउँपालिका– १ को कार्यालयमा बम आक्रमण गरेका छन् ।

मंगलबार राति १२ बजेतिर ककनी–१ मा रहेको वडा कार्यालयमा ४/५ जनाको समूहमा आएका विप्लव कार्याकर्ताले पेट्रोल बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बुधबार आव्हान गरेको बन्दको पूर्व सन्ध्यामा वडा कार्यालयमा पेट्रोल बम प्रहार गरिएको हो । ४/५ जनाको समूहले हतार–हतार गाउँको बीचबाटोबाट दौडिँदै गरेको स्थानीयले देखेको र त्यसको केही समयमा नै वडा कार्यालयमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयालले बताए ।

बम प्रहारपछि आगजनी हुँदा वडा कार्यालयको दुई वटा कोठा पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष बलामीले बताउनुभएको छ । साथै दुई वटा कोठामा रहेको सम्पूर्ण कागजात, दुई थान कम्प्युटरका साथै कार्यालयको सम्पूर्ण फर्निचर जलेर नष्ट भएको छ ।

आगजनीबाट लगभग ९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । वडा कार्यालयमा लागेको आगो राति नै प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको फुयाँलले जानकारी दिए।

प्रकाशित : २०७६, १५ श्रावण बुधबार १०:१५