‘रवीन्द्रको उत्तराधिकारी बनेर आएको हुँ, उहाँका अधुरा काम पूरा गराउँछु’ -नवनियुक्त मन्त्री भट्टराई

काठमाडाैँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले कार्यभार सम्हाल्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै भट्टराईले सिंहदबारस्थित पर्यटन मन्त्रालय पुगेर कार्यभार ग्रहण गर्नुभएको हो । पदभारपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री भट्टराईले आफू तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको उत्तराधिकारी बनेर आएको बताउँदै स्व अधिकारीले सुरू गरेका कामहरू पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

उहाँले अधिकारीले सुरु गर्नुभएको पोखरा विमानस्थल, गौतम बुद्ध विमानस्थलको काम द्रुत गतिमा भइरहेको भन्दै सकेसम्म छिटो सकाउने गरी काम अघि बढाउने बताउनुभयो ।

यस्तै, साँस्कृतिक क्षेत्रमा, नेपाल एयरलाइन्स र नागरिक उड्ययनको क्षेत्रमा रहेका जोखिम र चुनौतीलाई चिर्दै अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्बोधनका क्रममा मन्त्री भट्टराईले नेपाल एयरलाइन्सको साख उठाएर पूर्ववत अवस्थामा फर्काउने बाचा समेत गर्नुभएको थियो ।