ललितपुरको ढुंगाखानी प्रकरण : राष्ट्रिय सर्तकता केन्द्रको छानबिन प्रतिवेदन त्रुटिपूर्ण

ललितपुर । ललितपुरको लेले, टीकाभैरव र देवीचौरका वन क्षेत्रमा भइरहेको ढुंगाखानी उत्खनन्बारे राष्ट्रिय सर्तकता केन्द्रले अनुसन्धान गरी तयार पारेको भनिएको छानबिन प्रतिवेदन त्रुटिपूर्ण रहेको पाइएको छ ।

सोमबार सिंहदरबारस्थित राष्ट्रिय सर्तकता केन्द्रका सचिवको कार्यकक्षमा बसेको बैठकमा यसअघि तयार पारिएको छानबिन प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै केन्द्रका उपसचिव इन्द्रदेव पाण्डेको संयोजकत्वमा ७ सदस्यीय नयाँ छानबिन समिति गठन गरिएको छ ।

छानविन समितिमा पाण्डेसँगै गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैशी, डिभिजन वन कार्यलय ललितपुरका सहायक अधिकृत प्रेमा थापा, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत रामचन्द्र आले, नापी कार्यालय ललितपुरका नापी अधिकृत भरतचन्द्र अर्याल, जिल्ला समन्वय समिति ललितपुरका समन्वय अधिकारी दुर्गादेवी देवकोटा र प्रतिनिधि अधिकृत खानी विभाग रहेका छन् ।

केन्द्रका सचिव माधव वेल्वासेले यसअघिको छानबिन प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै गल्ती महसुस गरेको सोमबारको बैठकमा उपस्थित एक अधिकृतले जानकारी दिए । ती अधिकृतले भने, ‘बैठकमा वेल्वासेले त्रुटिपूर्ण निर्णय भएको भन्दै गल्ती महसुस गरेका थिए ।’

बैठकमा पुरानो छानबिन प्रतिवेदनलाई बदर गरी सो समस्याको समाधान गर्ने भन्दै उपसचिव इन्द्रदेव पाण्डेको ७ सदस्यीय छानबिन समिति गठन गरिएको ती अधिकृतले बताए । बैठकमा सम्बन्धित सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

अवैध रूपमा स्काईभेटर र ब्रेकरको प्रयोग गरी ढुंगा उत्खनन् गर्ने काम भइरहेकाले छानबिन गरिपाऊँ भन्ने उजुरीको आधारमा केन्द्रले यसअघि केन्द्रका सचिव माधव वेल्वासेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।