सभ्य र भयरहित समाज निर्माणमा समूदाय–प्रहरी साझेदारी : काठमाडौं प्रहरी प्रमुख सुवेदी

  • 14
    Shares
काठमाडौं, ५ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले काठमाडौंमा हुने सबै खालको अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । प्रहरी प्रमुख सुवेदीले मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध लगायत अन्य सामाजिक विकृति नियन्त्रणका लागि सबैसरोकारवाला निकायहरु ऐक्यबद्ध भएर आगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महिलाका लागि महिला मञ्च नेपालको सहकार्यमा आयोजना गरिएकमे मानव बेचबिखन तथा ओसार–पसार विरुद्ध १३औं राष्ट्रिय दिवसको अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र सामाजिक संघ संस्थाहरुबीच समन्वय विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रहरी प्रमुख सुवेदीले राजधानीमा लागूऔषध, साइबर क्रायम, लैङिक हिंसा बढ्दै गएको प्रति चिन्ता व्यत्त गर्दै सभ्य र भयरहित समाज निर्माणमा समूदाय–प्रहरी साझेदारी कार्यक्रम फलदायी हुदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कुनै पनि व्यक्तिले गलत मनसायबाट नजानिदो तवरले अपराध गर्दछ भने समाजमा रहने अपराधिक क्रियाकलाप गर्न व्यक्तिलाई कारबाही गरिहाल्नुपर्छ । अपराधिको मनोबल बढ्ने काम कोही कसैले गर्नुहुदैन । प्रहरीको मेरा लागि हाम्रा लागि समाजका लागि उनीहरु पनि यही समाजका मान्छे हुन् भन्ने भावनाको विकास गर्नुपर्छ ।’’

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा समाजिक संघ संस्थाहरुले निर्वाह गरेको भूमिकाको सराहना गर्दै आगामी दिनमा पनि नेपाल प्रहरीले सामाजिक संघ संस्थाहरुसँग आपसी सहयोग एवम् समन्वय गर्दै आगाडि बढ्ने वरिष्ठ उपरीक्षक सुवेदीको भनाइ थियो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा थप प्रभावकारीता ल्याउने उद्देश्य अनुरुप सामाजिक अपराध न्यूनिकरणका लागि सामूहिक भावनाका साथ सहकार्य एवम् समन्वय गरेर जनचेतनामूलक कार्यक्रमहरु संचालन गरेमा अपेक्षित सफलता हासिल गर्न सकिने बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक पोख्रेलले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको परिचय, मावन बेचबिखन तथा ओसार पसार नियन्त्रणमा देखिएका चुनौति लगायत अन्तरसंवाद कार्यक्रमका विषयबस्तुमा आफ्ना कुरा राख्नुभएको थियो ।

प्रकाशित : २०७६, ५ भाद्र बिहीबार १९:३३