‘थानकोट–नागढुङ्गा सडक खण्डमा ओभरटेक गर्न नपाइने’

अच्युत रेग्मी काठमाडौँ, ८ असोज । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा नीजि सवारी साधनलाई चार पटकसम्म चेकजाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वको बेला नीजि तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राती चारपटकसम्म विशेष चेकजाँचको व्यवस्था गर्न लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल सवारी साधन विशेष चेकजाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिनुहुन्छ । “हाल ३६८ स्थानमा नियमित चेकजाँचका लागि ७५० जनशक्ति परिचालन गरेकोमा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरेका हौँ,”–उहाँ भन्नुहुन्छ । ट्राफिक प्रहरीले चाडपर्वको समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतमा विशेष चेकजाँचको व्यवस्था गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला दशैँ मान्न झण्डै २५ लाख यात्रु बाहिरीने भएकाले उक्त यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन यातायात व्यवसायी गम्भीर भएर लागेको बताउनुहुन्छ । चेकजाँचका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे नगरेको, लामो दुरीका सवारी साधनमा दुईवटा चालक भए नभएको, सवारी साधनभित्र भाडादर राखे नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे नराखेकोलगायतका कुराहरु हेर्नेछन् । चाडपर्वको समयमा तीब्र गतिमा सवारी साधन चलाउने चालकलाई कारबाही गर्ने महाशाखाले जनाएको छ ।

यसैगरी, यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको यात्रु सहायता कक्षमा समेत ट्राफिक प्रहरी खटाइने महाशाखा प्रमुख ढकाल बताउनुहुन्छ । नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परिक्षणसमेत गरिने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दिपक कुवँर यान्त्रिक परिक्षणसँगै चाडपर्वको समयमा हुने दुर्घटनामा कमी आउने बताउनुहुन्छ । “नयाँ बसपार्कबाट छुट्ने अधिकाशं सार्वजनिक सवारी साधनलाई परिक्षण गरेर उपत्यका बाहिर पठाउँछौँ,”–कुँवर भन्नुहुन्छ । यात्रु, चालक तथा सहचालकलाई लक्षित गरेर सवारी साधन छुट्नुभन्दा अगाडि संस्कार समाज नेपालको सहकार्यमा महाशाखाबाट निर्माण गरिएको जनचेतनामुलक अडियो एक हजार थान पेनड्राइभ वितरण गरिने महाशाखाले जनाएको छ । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङ सार्वजनिक सवारी साधनमा असल संस्कार सम्बन्धि जनचेतनामुलक अडियो वितरण गरेसँगै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताउनुहुन्छ । चाडपर्वको समयमा थानकोट–नागढुुङ्गा सडक खण्डमा सवारी चलाउँदा ओभरटेक गर्न नपाइने व्यवस्था समेत गरिएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा जस्तै चाडपर्वको समयमा कलङ्की–नौबिसे सडक खण्डमा सवारी साधन बिग्रेर घण्टौँसम्म जाम हुने परिपाटीको अन्त्यको लागि प्रहरी प्रधान कार्यालयबाट ‘¥याकर’ (विग्रेको सवारी तान्ने साधन) को व्यवस्था गर्नुभएको छ । जसले गर्दा कुनैपनि सवारी साधन विग्रेमा तत्काल तानेर बाटो खुलाउन सकिन्छ । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन आइतबारदेखि ५०० ट्राफिक स्वयम्सेवक सडकमा खटाएको छ । महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वयम्सेवक परिचालन गरेको हो । जसले गर्दा चाडपर्वको बेला यातायात व्यवस्थापनमा सहजता हुने महाशाखाले विश्वास लिएको छ ।

प्रकाशित : २०७६, ८ आश्विन बुधबार २०:२३