काठमाडौँ । गाउँलेलाई ऋण दिएर उठिबास गराउने श्यामकृष्ण साह भनिने श्याम परदेशी पूर्पक्षका लागि जेल चलान भएका छन् ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले शुक्रबार ठगी मुद्दामा श्याम परदेशीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
ठगी अभियोगमा पक्राउ परेका परदेशीको बयान र थनुछेक बहसपछि अदालतले कारागार चलान गर्ने आदेश दिएको हो ।
उनीसँग २ सय ९९ जना व्यक्तिले १ करोड ९ लाख २१ हजार रुपैयाँ ऋण लिएका थिए । परदेशीसँग ऋण लिने अधिकांश ऋणीहरु उनीबाट निकै नै पिडामा थिए । उनीसँग ऋण लिएका अधिकांश ऋणीले पटक पटक गरी १ करोड ४७ लाख ४ हजार रुपैया भुक्तानी गरिसकेको पीडितहरु बताउँछन् ।
उनीविरुद्ध विपन्नलाई एक पटक ऋण दिएर पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको आरोप छ । परदेशीले ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्को पटक ऋण दिएको नक्कली कागज बनाएर ठगेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका थिए ।
एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा समेत कागज गराउँदै आएका थिए ।
उनीविरुद्ध एक दर्जनभन्दा बढीको उजुरी परेको थियो । पीडितहरुले जाहेरी दिएपछि उनी भदौ १५ गते पक्राउ परेका थिए ।