सालकको खपटासहित सतुंगलबाट एक पक्राउ

  • 30
    Shares

महानगरीय प्रहरी प्रभाग बलम्वुले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित एक जनालाई पक्राउ गरेको हो।

काठमाडौं सतुङंगलस्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा काभ्रेपलाञ्चोक चौरीदेउराली १ घरभई हाल भक्तपुर सुर्यविनायक डेरा गरी बस्ने ३४ वर्षीय बिन्दु बहादुर खड्कालाई सालकको खपटासहित पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी कुमार विक्रम थापाले बताए।

डिएसपी थापाका अनुसार खड्काबाट १ केजी ६०० ग्राम सालक बरामद गरिएको हो। पक्राउ परेका खड्कालाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा पठाउने तयारी भईरहेको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काले बताए।

सालक सिआइटिईएस महासन्धी १९७५ को अनुसुची १ अनुसार लोपोन्मूख प्रजातिको सूचीमा सूचीकृत जनावर हो ।

सालकको ओसारपसार र बिक्रीवितरण गरे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ कोदफा २१ (१) कमा भएको व्यवस्था बमोजिम कारबाही हुने कानुनी प्रावधान छ।

ऐन अनुसार सालक मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्नेलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

प्रकाशित : २०७६, १४ आश्विन मंगलवार २२:४३