सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन : सहमहामन्त्री डा महत

काठमाडौँ, ३ कात्तिक । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले उहाँले सरकारले जनतालाई राहत दिने काम गर्न नसकेको बताएका हुन् ।

“चाडपर्वको समयमा सहुलियत दिनुपर्ने सरकारले महङ्गी बढाएको छ,”–उनले भने । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई सरकारले पुरा गर्न नसकेको उनको भनाई थियो । उनले दुई तिहाईको जनमत पाएको सरकारले जनतालाई सुशासन दिनु को सट्टा भष्टा«चारमा लिप्त भएको उल्लेख गरे।

नेपाली काङ्ग्रेस रसुवाका सांसद मोहन आचार्यले सांस्कृतिक पर्वले भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने बताए । काङ्ग्रेस एकजुट भए आगामी उपनिर्वाचनमा सजिलै विजय हाँसिल गर्न सक्ने उनको भनाई थियो ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाले सरकारले हरेक क्षेत्रमा कर बढाएर जनतालाई दुःख दिने काम गरेको आरोप लगाए। काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ का सभापति भैरव सापकोटाले पार्टीभित्र रहेको गुठ उपगुठ अन्त्य नभएसम्म काङ्ग्रेस अगाडि बढ्न नसक्ने बताए ।