‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्दै गित गाएका गायक दुर्गेश थापा पक्राउ

  • 14
    Shares

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले गायक दुर्गेश थापालाई पक्राउ गरेको छ ।

तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताए । थापाले भने, ‘‘सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विरीत हो । त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं ।’’ दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखाको ल्याइएको उनको भनाइ छ ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ ।

तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ प्रमोशन गीत नै बनाएको छ ।

प्रकाशित : २०७६, ५ कार्तिक मंगलवार १३:१५