किसानको जग्गा फिर्ता गर्न माग गर्दै ‘विप्लव’ कार्यकर्ताले गाडे झण्डा

  • 3
    Shares

पोखरा, ९ कात्तिक । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनष्टि पार्टी कास्कीले शनिबार पोखरा महानगरपालिका वडा नं.२३ चापाकोटस्थित साढे ३७ रोपनी जमिन कब्जा गरेको छ । पार्टीको झण्डा गाड्दै विप्लवका कार्यकर्ताहरुले कुनै पनि व्यक्ति वा संस्थाले सो जमिन खरिद तथा विक्री वितरण गरेमा सशक्त कारवाही गर्ने चेतावनी दिएका हुन् ।

उत्तम पुन र नविन पुनको समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडले बिना सूचना किसानहरुको सो जमिन सहकारीको नाममा पास गरेको थियो । किसानहरुलाई कुनै पनि लिखित वा मौखिक सूचना नदिइकन गलत नियतबश जमिन हडप्ने उद्देश्यले जग्गा पास गर्ने र तेस्रो व्यक्तिलाई बेच्ने कार्य सुरु गरेपछि तत्कालै यस्ता गतिविधिहरु रोक्नुपर्ने भन्दै नेकपा कास्कीले विरोध जनाएको हो ।

२०५७ सालमा स्थानीय किसानहरु देवीरमण चापागाई, पूर्णाखर सुनार, कृष्णप्रसाद अधिकारी, कुलप्रसाद पराजुली, बलरााम अधिकारी र गोपालप्रसाद पराजुलीले नेपाल सहकारी संस्था लिमिटेडबाट संयुक्त रुपमा ९ लाख रुपैयाँ ऋण लिएका थिए । पीडित गोपालप्रसाद पराजुलीले गाईपालनका लागि ऋण लिएको बताउनुभयो । उहाँले किस्ता बुझाउने क्रममा सहकारी कै शेयर सदस्यहरुबीच विवाद उत्पन्न हुँदा सहकारी काठमाडौं सारिएको र किस्ता समेत बुझाउन नपाएको गुनासो गरे ।

ऋणको आधा साँवा र ब्याँज बुझाई सकेपछि द्वन्द्वकालको अवस्थामा एकाएक सहकारी नै सो स्थानबाट हट्नु र काठमाडौं कुन ठाउँमा छ ? भन्ने जानकारी हामीलाई नदिने कार्यले उत्तम पुन र नविन पुन समूहको नियतबश ठगी गर्ने उद्देश्य रहेको पुष्टि हुने किसानहरुको भनाइ थियो ।

१० वर्षपछि बल्लबल्ल सहकारी काठमाडौंमा भेटेपछि सरसल्लाह हुँदा एकमुष्ठ २५ लाख रुपैयाँ बुझाएर संस्थाको नाममा पास भएको उक्त जमिन फिर्ता गर्ने सहमति भएको थियो । पीडित देवीरमण चापागाईले भने–‘जे भएपनि हामीले अब जग्गा पाउँछौं भन्ने सोचेर २५ लाख बुझाउन गयौं तर संस्थाले चलखेल गरेर जमिन अरुलाई नै बेच्न थाल्यो ।’

यस विषयमा बुझ्दा नेपाल सहकारी संस्थाका सञ्चालक मध्ये एक नविन पुनले किसानहरुलाई पछिल्लो समय जग्गा फिर्ता गर्ने सहमति भएको तर, उनीहरु भनेको समयमा नआउँदा संस्थाले टेण्डर गरी अरुलाई नै बेच्ने कार्य सुरु गरेको बताए ।

प्रकाशित : २०७६, १० कार्तिक आईतवार १९:४७