भीआईपी जुवाडे पक्राउ प्रकरण : आजै छुट्न सक्ने सम्भावना

काठमाडौँ । महराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट शनिबार पक्राउ परेका २५ जुवाडेलाई छुटाउन चलखेल सुरु भएको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहारलाई देखाएर शनिबार राती पक्राउ परेका जुवाडेहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

एक जुवाडेको आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा आइतबार ३ बजे बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।

भाइटिका लगाउनुपर्ने भएकाले अदालतलाई समेत प्रभावमा पारेर रिट दायर गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । जुवाडेहरुलाई आजै अदालतमा उपस्थित गराइदैँछ ।

पक्राउ परेका जुवाडेहरुमा क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन् ।

पक्राउ परेका जुवाडेको साथबाट प्रहरीले २ करोड ६७ लाख नगद र तीन लाखको चेक बरामद गरेको थियो ।

प्रकाशित : २०७६, ११ कार्तिक सोमबार १३:२१