नेकपाले तय ग¥यो उपनिर्वाचनका लागि उम्मेदवार,‘प्रदेश प्रमुख हटाएकोमा असन्तुष्टि जनाउनु पर्दैन’

  • 5
    Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन नेकपाले उम्मेदवार तय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपाको सचिवालयको बैठकले कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभाका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका रवीन्द्रप्रसाद अधिकारीको निधन भएपछि खाली भएका उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारमा सिफारिस हुनुभएका भट्टराई स्व अधिकारीको धर्मपत्नी हुनुहुन्छ । नेकपाले जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवार चयन गरेको हो ।

यस्तै प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङ ३ खबाट निर्वाचित उत्तरकुमार वलीको दुर्घटनामा निधनभएपछि उहाँकी धर्मपत्नी विमलालाई पार्टीले उम्मेदवार बनाएको हो । भक्तपुर १ क मा उम्मेदवार सिफारिस हुनुभएका ढकाल नेकपा भक्तपुरको सचिव हुनुहुन्छ ।

नेकपाले बाग्लुङ २ ख मा भने वाम गठबन्धनलाई कायम राख्दै राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । नेकपा र जनमोर्चाबीच चुनावी तालमेल गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ ।

यसैगरी धरान उपमहानगरपालिकाका प्रमुखमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ । जिल्ला कमिटी र प्रदेश कमिटीले एक महिलासहित कम्तीमा तीन जना उम्मेदवार चयन गरेर पठाएको थियो । सोही आधारमा योग्य उम्मेदवार चयन गरिएको हो ।

अन्य गाउँपालिका र नगरपालिका तथा महानगरका वडामा हुने उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रीय कमिटी र जिल्ला कमिटीको सिफारिसका आधारमा प्रदेश कमिटीले निर्णय गर्ने गरी जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी पार्टीलगायतले पनि उम्मेदवार चयन गरिसकेका छन् । उपनिर्वाचनलाई जनमत परीक्षणका रुपमा समेत लिइएको छ ।

निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आज स्थापना भएको छ । स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

उपनिर्वाचनका लागि ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।

‘प्रदेश प्रमुख हटाएको विषयमा असन्तुष्टि जनाउनु पर्दैन’

प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रदेश प्रमुख हटाइएका विषयमा कोही कसैले असन्तुष्टि जनाउनुपर्ने कारण नरहेको बताउनुभयो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले असन्तुष्टि जनाएको छ नी ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थाअनुसार नै उहाँहरुलाई हटाइएको हो । कसैले असन्तुष्टी जनाउनु पर्दैन ।”

रिक्त रहेका प्रदेश प्रमुख छिट्टै नियुक्त हुनेसमेत उहाँले विश्वास व्यक्त गर्नुभयो । “ढिलो गर्ने कुरा छैन, सरकारले छिट्टै निर्णय गर्ला र राष्ट्रपतिले नियुक्त गर्नुहुन्छ ।” संवैधानिकरुपमा नै प्रदेश प्रमुखहरु हटेकाले त्यसमा कोही कसैको असन्तुष्टि रहनुपर्ने कारण नभएको उहाँको भनाइ छ ।

मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने

आज साँझका लागि तय भएको मन्त्रिपरिषद्को बैठक सोमबार बिहान ११ः०० बजे बस्ने गरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तय भएको बैठक अन्तिम समयमा स्थगन भएको हो । आज बिहान बसेको बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला  र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो । नेकपा सचिवालयको बैठक लम्बिएकालगायतका कारण बैठक सोमबारका लागि सारिएको हो ।

प्रकाशित : २०७६, १७ कार्तिक आईतवार २२:३१