लागूऔषधसहित नागढुङ्गाबाट तीन जना प्रहरी नियन्त्रणमा

  • 17
    Shares

काठमाडौं । प्रहरीले नागढुङ्गा नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको चन्द्रागिरी–२ नागढुंगास्थित छुट्टाछुट्टै चेकजाँचको क्रममा उनीहरुलाई विभिन्न परिमाणको लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रहरी नायब उपरीक्षक प्रमुख कुमार विक्रम थापाका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा७ख ५३७६ नम्बरको बसबाट भारतको विहार रक्सौल पूर्वी चम्पारण हरदीया रघौता घर भएका २४ वर्षीय दीलिप शाहलाई नियन्त्रणमा लिइएको हो ।

थानकोट बृत्तका प्रहरी नायव उपरीक्षक थापाका अनुसार शाहको साथबाट लागूऔषध फेनारगन ६५० एम्पुल, डाइजेपाम ६५० एम्पुल र नुफिन ६५० एम्पुल बरामद गरिएको छ ।

त्यस्तै धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख २८४० नम्बरको बस चेक जाँच गर्ने क्रममा धादिङ थाक्रे गाउँपालिका वडा–२ सिम्लेका ५५ वर्षीय सोनम तामाङ वाइवा र नवलपारसीबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ख ८५१३ नम्बरको बस चेकजाँच गरी सोही बसमा यात्रा गरेर आइरहेका नवलपरासी रामग्राम गाउँपालिका–९ का २५ वर्षीय गणेश बानियाँलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो ।

सोनम तामाङ वाइवाको साथबाट ८ किलो ५३५ ग्राम चरेश र बाँनियाको साथबाट लागूऔषध फेनारगन ३०० एम्पुल, डाइजेपाम ३०० एम्पुल र नुफिन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा परेका तीनै जनालाई जिल्ला अदालत काठमाडौंमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको थानकोट प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, २७ कार्तिक बुधबार २१:००