अस्वस्थ प्रधानमन्त्री ओलीको सशक्त चालबाजी

  • 9
    Shares

काठमाडौं, २९ कात्तिक । स्वास्थ्यले साथ नदिँदा नदिँदै पनि प्रधानमन्त्री खड्गप्रसाद ओलील पार्टीमा आफ्नो बर्चश्व गुम्न नदिन सफल भइरहेका छन् ।

कूटिल र खुराफाती चालमा सिपालु ओलीले पार्टी नेताहरुलाई खेलाएरै पार्टीमा शक्तिशाली बनिरहने रणनीति लिएकोमा शंका छैन ।

ओलीको ध्यान नेताहरुलाई खेलाएर पार्टीको शक्ति गुम्न नदिने र प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर ज्यान बचाइरहनेमा छ भन्दा उनीमाथि अनावश्यक आरोप लगाएको हुँदैन ।

ओलीले बुधबार एउटा अस्त्र फाले माधव नेपाललाई नजिक ल्याउन । आफ्नै छुद्र बोलीका कारण बोलचाल समेत बन्द गराएर बसेका माधवकुमार नेपाललाई प्रधानमन्त्री ओलीले एकाएक बालुवाटारमा बोलाएरसँगै लञ्च खाए ।

पानी बाराबारको अवस्था भएको झण्डै तीन महिनापछि ओलीले माधवलाई डाकेर खाना मात्रै खाएनन् पार्टीको आन्तरिक राजनीतिबारे पनि छलफल गरे ।

ओलीको बोलीले प्रचण्डसँग नजिकिएका नेपाललाई प्रचण्डबाट तानेर आफू नजिक ल्याउने चालबाजीको रुपमा बुधबारको लञ्च अफरलाई लिएको छ ।

कारण ओली तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बसी बसी देश मात्र होइन पार्टी पनि चार्तुयताका साथ चलाइरहेका छन् । उनी कहिले आफ्ना आन्तरिक प्रतिष्पर्धीसँग जुध्छन् त कहिले मनाएर नजिक ल्याउँछन् ।

कुनै बेला उनी प्रचण्डका कटु आलोचक थिए । प्रचण्डलाई उखान र टुक्का प्रयोग गरी व्यांय गर्थे । प्रधानसेनापति प्रकरणमा उनले भनेका थिए, प्रचण्डरुपी बेलुन फुलेको थियो, कटवालरुपी छेस्कोले घोच्दा प्याट्ट फुट्यो । भन्न बाँकी नराख्ने ओलीले प्रचण्डलाई नजिक मात्र ल्याएनन् पार्टी एकीकरण गराए ।

अहिले पनि प्रचण्डलाई बेला बेलामा दबाब दिन्छन् र असन्तुष्टि भए फेरि नजिक ल्याउँछन् । ओली कहिले काहीँ यति रुखा हुन्छन् कि बालुवाटारमा भेट्न आएका प्रचण्डलाई समेत घन्टौं कुराइदिन्छन् ।

तिनै ओली हुन् जसले केही महिना अघि वरिष्ठ नेता माधवकुमार नेपाललाई साइजमा ल्याउने नाममा नानाथरी आरोप लगाएका थिए । नेपाललाई अपमानित गर्दै उनी भन्दा माथिल्लो वरियतामा झलनाथ खनाललाई राखिदिए ।

एक साता अघि प्रदेश प्रमुख नियुक्ति गर्दा पनि माधव नेपाललाई एक पटक सोध्ने सम्झने आवश्यकता समेत ठानेनन् । नियुक्तिमा माधवमा मान्छे पनि परेनन् । माधव नेपालले नोट अफ डिसेन्टहरु लेखिरहे तर ओलीले सुनेनन् ।

तर, बुधबार एकाएक माधवलाई फकाउन खोज्नुको पछाडि प्रचण्ड र नेपालबीच दूरी बढाउने र केही समय प्रचण्ड पक्षलाई पेल्ने रणनीति हुनसक्ने विश्लेषण गरिएको छ । ओली अहिले गम्भीर संकटमा छन् । सक्रिय बनेर खेलिरहन स्वास्थ्यले साथ दिएको छैन तर कुर्सी छाडिहाल्ने मन पनि छैन ।

त्यसैले आफू लामो उपचारमा जानु अघि सबैलाई साथ लिए जस्तो गरेर कसैलाई कार्यबाहक दिने अनि कम्तिमा ६ मंसिर लामो उपचारमा रहुन्जेल पनि प्रधानमन्त्रीकै रुपमा रहिरअने र स्वास्थ्य ठीक भयो भने त्यसपछि पुनः सक्रिय हुने रणनीति रहेको बताइन्छ ।

ओली सत्ता लालसा देखाएर कुर्सी नछाड्नु जति अनौठो होइन नेकपाका अरु नेताहरुको निरिहता पनि उत्तिकै अनौठो छैन । ओलीसँग भड्केर पानी बाराबारको अवस्थामा पुगेका माधव नेपाल एउटा लञ्च बैठकबाटै पुरै यु टर्न गर्छन भने कमजोरी उनकैको हो ।

त्यसमाथि उनका एकाध मानिसहरुलाई ओलीले मन्त्री अफर गरिदिएको पनि सुन्नमा आएको हो । यसले के देखाउँछ भने माधव नेपाल भागशान्ती असन्तुष्ट व्यक्ति हुन् । अर्कोतर्फ वामदेव गौतमको अवस्था पनि त्यो भन्दा फरक छैन । उनी पनि प्यारप्यार बोल्दै हिड्ने मात्रै हुन् ।

वामदेवकै सहयोगबाट पार्टी अध्यक्ष बनेका र वामदेवकै पहलबाट प्रचण्डलाई पार्टी एकताका लागि तयार बनाएका वामदेवलाई नै ओलीले प्रधानमनत्री पदको प्रतिष्पर्धी देखेर आम चुनावमा हराईदिए ।

त्यसमाथि एक पटक पार्टी फुटाएको आरोप खेपिसकेका वामदेव ज्यादै परसम्म पुग्न सक्दैनन् भन्ने कुरा ओली पक्षले राम्ररी बुझेको छ । ओलीसँग अलिकति जुध्न सक्ने हैसियत भनेको प्रचण्डको हो ।

तर, पार्टी एकतापछि प्रचण्डलाई पनि ओलीले यसरी कमजोर बनाइदिएका छन् किन्न सकिने उनका मान्छेहरुलाई किनिसकेका छन् भने अटेर गर्नेहरुलाई अनेक लाञ्छना लगाईदिएका छन् ।

त्यसको ज्वलन्त उदाहरण महरा प्रकरण हो । प्रचण्डले अप्ठेरो बनाउने भए भन्ने लाग्यो भने उनीमाथि पनि कुनै अस्त्र नचाल्ना भन्न सकिँदैन । त्यसको छनक प्रचण्डले पाईसकेको बताइन्छ,  नेपालीपत्रमा उल्लेख छ ।

त्यसैले प्रचण्ड चूपचाप बस्ने गरेको अनुमान गरिएको छ । अर्थात् प्रचण्ड आफू सुरक्षित रहने अवस्थामा मात्रै ओली विरुद्ध कदम चाल्न अघि सर्नेछन् । एक हिसाबले एमाले र माओवादी मिलेर बनेको नेकपा अहिले पूरै एमालेकरण मात्रै होइन ओलीकरण नै भइसकेको छ ।

प्रकाशित : २०७६, २९ कार्तिक शुक्रबार २०:४४