विप्लब माओवादीले लुकाएको अत्याधुनिक एसएमजी सहित ३९० राउण्ड गोली बरामद

कात्तिक ३०, दाङ । गोठमा लुकाई राखेको अत्याधुनिक हतियार  दाङ प्रहरीले बरामद गरेको छ ।कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं. १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

फेला परेका हतियार सरकारद्धारा प्रतिवन्धित विप्लव समुहको भएको जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले दाबी गरेका छन् ।

दाङको गढवा गाउँपालिका र कपिलबस्तु जिल्लाको सीमाना क्षेत्रमा विशेष सूचनाको आधारमा प्रहरीको विशेष टोली परिचालन भएर खोजतलाश गर्ने क्रममा रित्ता गोठहरुमा स्थान्तरण गर्नको लागि सुटकेटसमा राखेको अवस्थामा ती हतियार बरामद भएको हो ।

‘विषेश सुचनाको आधारमा खोजतलास गर्ने क्रममा अत्याधुनिक हतियार फेला परेको छ । बरामद हतियार विप्लव माओवादीको भन्ने खुल्न आएको छ ।’ भट्टराईले बताए ।

उनले खाली र बेवारिसे गोठ भित्र सुटकेश भित्र राखेर त्यसलाई पात पत्तिंगर तथा झारपातले छोपेर लुकाई राखेको अवस्थामा ती हातहतियार फेला परेको जानकारी दिए ।

उनले ती सबै हतियार एउटै गोठवाट शुक्रबार बेलुका ६ बजेतिर लुकाइ राखेको अवस्थामा प्रहरीले फेला पार्न सफल भएको बताए । विप्लव समुहले ती हतियार कुन प्रयोजनका लागि कहाँ लैजाँदै थिए भन्ने बारेमा थप अनुन्धान गर्नुपर्ने एसपी भट्टराईको भनाई छ ।

असोज ३० गते मात्रै प्रहरीले दाङको गढवा गाउँपालिकाको नेपाल–भारत सीमा नाका क्षेत्रवाट विप्लवका दाजु ‘वीरजंग’सहित राप्ती व्यूरोका २१ नेता कार्यकर्ता पक्राउ गरेको थियो । त्यसको ठिक एक महिना पछि प्रहरीले यी हतियारहरु बरामद गर्न सफल भएको बताएको छ ।

प्रकाशित : २०७६, ३० कार्तिक शनिबार १९:११