‘अबको ५ वर्षभित्र निजगढबाट प्लेन चढेर अमेरिका पुग्छौँ’

  • 5
    Shares

मंसिर ६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २०२० को १ जनवरीमा ७ वटै प्रदेशमा भव्य शुभारम्भ गरिने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा मन्त्री भट्टराईले यस्तो बताएका हुन् । ओझेलमा परेका गन्तव्यहरुको खोजी गरी विस्तार तथा विकास गरिने उनको भनाइ छ ।

‘ओझेलमा परेका पर्यटकीय गन्तव्य स्थलहरुको खोजी गर्ने कार्य जारी छ । तीनको विकासलाई गतिमा दिनेछौँ । पर्यटन मन्त्रालयका भौतिक पूर्वाधारको विकास देखि लिएर सम्पूर्ण कार्यहरुलाई तीव्र गतिमा अघि बढाईरहेका छौँ,’ मन्त्री भट्टराईले भने, ‘विशेषत एयरपोर्ट मर्मत सम्भार तथा विस्तार लक्षित सुधारका कामहरु पनि भइरहेको छ । अन्तर्राष्ट्रिय एयरलाइन्सहरुसँग उडान थप गर्न पहल गरिरहेका छौँ ।’

भ्रमण वर्ष २०२० को अन्त्य नहुने तथा यो थालनी भएको उनले धारणा राखे । पर्यटक बढेमा मुलुकको अर्थतन्त्र मजबुत हुनुका साथै व्यापार घाटा कम हुने उनले स्पष्ट पारे । मन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थलको काम ९० प्रतिशत सकिएको तथा अन्तिम चरणमा पुगेको पनि जानकारी गराए । त्यहाँको कार्यगति नियाल्न दैनिकजसो आफूहरु अनुगमनमा जाने गरेको उनको दाबी छ । उनका अनुसार अध्यागमन विभाग, भन्सार, विभिन्न एयरलाइन्सहरुको अफिस त्यहाँ राखिने छ ।

अर्थतन्त्र सुदृढिकरणमा पर्यटनको अहम भूमिका रहने भन्दै उनले राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि तीव्र गतिमा भइरहेको बताए । ‘सन २०२१ जुलाईमा सक्नुपर्ने सम्झौता भएपनि काम हेर्दा २०२० को डिसेम्बर सम्म तयार भइसक्छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । अबको दुई वर्षपछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान हुनेछ’– उनले भने ।

काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका विभिन्न समस्याहरु आफूले समाधान गर्दै गएको दाबी गर्दै मन्त्री भट्टराईले त्यहाँको रनवे अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा आइसकेको बताए ।

जहाज होल्ड भयो भनेर कमेन्ट गर्नेहरुलाई पनि उनले कडा जवाफ दिए । उनी भन्छन्, ‘जहाज होल्ड भयो भनेर कति साथी कोड गर्नुहुन्छ । सामाजिक सञ्जालमा फलो गर्न खोज्यो, वास्तविकता बुझ्नका लागि अनि इग्नोर गर्नुहुन्छ । यतिकै जनतामा भ्रम फैलाउने ? वास्तवमा काठमाडौंको विमानस्थलको स्पेस सानो छ । कहिलेकाहीँ एउटा जहाज नउडी अर्को जहाजले ल्याण्ड गर्न पाउँदैन । यस्तो अवस्थामा कहिलेकाहीँ होल्ड भएको हुन सक्छ । अब यसमा पनि सुधार ल्याउँदैछौँ ।’

उनले विमानस्थलमा लगेज कुर्नुपर्ने विषय पनि उठाए । ‘लगेजका लागि २ घण्टा कुर्यौँ भन्नुहुन्छ । यस विषयमा पनि सामाजिक सञ्जालमा फलो गर्न खोज्छौँ तर सम्पर्कमा आउनु हुँदैन । यो उद्देश्य नै भ्रम फैलाउने देखियो’, मन्त्री योगेशले भने,  ‘वास्तवमा काठमाडौंको एयरपोर्टमा आधा घण्टा भन्दा बढी लगेजका लागि कुर्नै पर्दैन । हाम्रो नेपालमा नेतालाई गाली गर्दा आफूलाई खुब ठुलो सोच्ने बानी छ ।’

यस्तै मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गलत प्रचार गरिएको बताए । यसअघि विभिन्न सञ्चार माध्यमहरुमा उक्त विमानस्थलका लागि २५ लाख रुख काट्नुपर्ने उल्लेख थियो । यसैको खण्डन गर्दै उनले भने ‘बढीमा २५ लाखको आधाको आधा मात्रै काटिन्छ रुख । त्यहाँको एक रुख काटे २५ रुख रोपिने तथा त्यसको विकल्प खोज्छौँ । हामी कम क्षतिमा त्यहाँ विमानस्थल बनाउँछाैँ । अबको ५ वर्षभित्र निजगढबाट प्लेन चढेर अमेरिका पुग्छौँ ।’

नेपालमा विकास गर्न नदिन थुप्रै षणयन्त्र हुँदै आएको उनको आरोप छ । ‘नेपालमा विकास हुन नदिन धेरै पहिलेदेखि षणयन्त्र हुँदै आएको छ । यसमा नेपाली पनि सहभागी भएको देख्दा साह्रै दुःख लाग्छ । आफूलाई विकासवादी भन्नेहरु पनि विकासमा विभिन्न बहाना बनाएर हस्तक्षेप गर्छन्’, उनले भने ।

उनले भ्रमण वर्ष मनाइरहेका बेला आन्तरिक तथा वाह्य पर्यटक भड्काउने गरी सामाजिक सञ्जालहरु मार्फत गलत सूचना नदिन पनि आग्रह गरे ।

भ्रमण वर्ष २०२० का विषयमा अन्तक्र्रिया गरिरहेका मन्त्री भट्टराईले नेपाल वायुसेवा निगम (नेवानि) घाटामा गएको प्रसंग पनि कोट्याए । नेवानिको विगत र वर्तमान दुवै निराशाजनक छ । सो निगमले वार्षिक १ अर्ब घाटा व्यहोरिरहेको उनको भनाइ छ ।

‘नेवानिले यसअघि सरकारसँग अनुदान समेत मागेको थियो । यद्यपी प्रधानमन्त्रीले सार्वजनिक रुपमै निगमको प्रस्ताव तथा माग अस्वीकार गर्नुभयो । ती नै गन्तव्यमा उड्ने अरु एयरलाइन्स नाफामा जाने नेवानि मात्रै घाटामा जाने ? यो कसरी हुन्छ ?’, उनले भने, ‘यसबारे छानविन हुनु आवश्यक छ । म छानविन गर्छु । सधैँ राज्यले अनुदान दिएर चल्दैन । स्टाफ नै बढी छन् । सबै घाम तापेर तलब खाइरहेका हुन्छन् ।’

प्रकाशित : २०७६, ६ मंसिर शुक्रबार २०:०९