उपनिर्वाचनमार्फत सरकारलाई सच्याउनुपर्छ : सभापति देउवा

  • 1
    Share

कास्की  : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले आशन्न उपनिर्वाचनमार्फत वर्तमान सरकारलाई सच्याउनुपर्ने बताउनुभएको छ ।

कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–१६ मा आयोजित चुनावी सभामा सभापति देउवाले काँग्रेसले उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने बताउनुभयो ।

वर्तमान सरकारले एकपछि अर्को गर्दै जनताका हकअधिकार कुण्ठित गर्दै गएको उल्लेख गर्दै उहाँले न्यायालय, स्वतन्त्र प्रेसका साथै संवैधानिक अङ्गमा हस्तक्षेप गरिहेको आरोप लगाउनुभयो ।

“जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउनका लागि यस निर्वाचनमा काँग्रेसले जित्नुको विकल्प छैन”, सभापति देउवाले भन्नुभयो ।

सभापति देउवाले त्यागी र सादगी नेता खेमराज पौडेललाई कास्की क्षेत्र नं २ मा उम्मेदवारका रुपमा अघि सारेर पार्टीले उहाँप्रति न्याय गरेको बताउनुभयो । “पौडेललाई न्याय दिने जिम्मेवारी कास्कीका जनताको काँधमा आएको छ”, उहाँले भन्नुभयो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने आरोप लगाउनुभयो । “अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेका छन्”, उहाँले भन्नुभयो । काँग्रेस उम्मेदवार पौडेललाई अत्यधिक मत दिएर जिताउन उहाँले आग्रह गर्नुभयो ।

काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्ट सरकार मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागि परेको आरोप लगाउनुभयो । सरकार मुलुक र जनताको हितका साथै लोकतन्त्र, संविधान, सङ्घीयता, गणतन्त्र, समावेशिता कुनैको हितमा नरहेको उल्लेख गर्दै उहाँले यसलाई सच्याउनका लागि पनि यो चुनाव काँग्रेसले जित्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा वर्तमान सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाउनुभयो ।

युवा नेता गगनकुमार थापाले स्व रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि नेकपालाई भोट दिने हो भने त्यो उहाँ प्रतिको अपमान हुने बताउनुभयो । नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा पौडेललाई जिताएर त्यसको सन्देश देशभरी दिनुपर्ने नेता थापाले उल्लेख गर्नुभयो ।

उम्मेदवार पौडेलले आफू सधैँ कस्केली जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गर्नुभयो । जितेर गएपछि पनि सधैँ जनताकै साथमा हातेमालो गर्दै अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्यद्वय विन्दुकुमार थापा र कुमार खड्का, कास्की काँग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले सरकारलाई सही बाटोमा हिँडाउनु काँग्रेसको दायित्व भएको बताउनुभयो । सो अवसरमा विगतमा कम्युनिष्ट आन्दोलनमा सक्रिय वामपन्थी नेता माधवप्रसाद पराजुली, ईन्द्रमान सिलवाल, सरु थापा, निर्मला थापालगायत काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

प्रकाशित : २०७६, ८ मंसिर आईतवार ००:१५