एपीएफ चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

  • 37
    Shares

काठमाडौं, ८ मंसिर । राजधानीको चन्द्रागिरिमा जारीे चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत सरस्वती युथ क्लबलाईलाई हराउदै विभागीय नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरिको नैकाप स्थित खेल मैदानमा आज भएको प्रतियोगितामा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै विभागीय नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेकोे हो ।

विभागीय नेपाल एपीएफ क्लबका प्रविन स्याङ्तानले खेलको १५औं मिनेट गरेको गोल एपीएफलाई निर्णायक बन्यो । राम कुमार कुमालको क्रसमा प्रविनको बक्सभित्रको शक्रिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि खेलको सातौ मिनेटमा प्रविनले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो ।

उनको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । २९औं मिनेटमा सरस्वतीका दीपक भुषालको फ्रिकिकलाई तीर्थ बस्नेतले हेडर प्रयास गरेपनि गोलको दिशा दिन सकेन ।

७७औं मिनेटमा नवीन लामाको क्रसलाई राजीव लोप्चनले पेनाल्टी बक्सभित्र भेट्न सकेन । अन्तिम १० मिनेट सरस्वतीले एपीएफलाई दवावमा राखेपनि गोल गर्न सकेन । ८३औं मिनेटमा विश्व अधिकारीको प्रहारलाई एपीएफका गोलरक्षक अमृत चौधरीले सहजै बचाइदिए ।

त्यसपछि गोल हुन नसक्दा एपीएफ १–० ले विजयी हुन सफल भयो । एपीएफका डिफेन्डर रमेश दंगाल सरस्वतीको हरेक आक्रमणमा बाधक बने । उनले सरस्वतीको झन्डै एक दर्जन प्रयासलाई ब्लक गरिदिएका थिए ।

उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैया र म्यान अफ दि म्याचको अवार्ड पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक रमेश बुढाथोकी र आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकीले प्रदान गरे । यससँगै चन्द्रागिरी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

पहिलो सेमिफाइनलमा मंगलबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र विभागीय नेपाल पुलिसका क्लबबीच प्रतिस्पर्धा हुनेछ । बुधबार एपीएफले सेमिफाइनलमा ललितपुरको रुस्लान थ्री स्टार क्लबसँग खेल्नेछ ।सोमबार कुनै खेल हुने छैन । खेलहरु नैकाप फुटबल मैदानमा दिउँसो २ बजेपछि हुनेछ ।

प्रकाशित : २०७६, ८ मंसिर आईतवार १९:३५