थ्री स्टारलाई सडन डेथ ९–८ मा हराउँदै एपिएफ फाइनलमा

  • 50
    Shares

काठमाडौं, ११ मंसिर । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी रुस्लान थ्री स्टार क्लबो चुनौती सडनडेथमा पन्छाउदै विभागीय नेपाल एपीएफ क्ल राजधानीमा जारी जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको निकै नै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा एपीएफले थ्री स्टारलाई सडनडेथमा ९–८ ले पराजित गर्दै फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटमा दुवै टोलीबाट गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । शुरुवाती पाँच पेनाल्टीमा दुवै टोलीबाट समान ४ गोल भएको थियो । थ्री स्टारका कप्तान रुपेश केसी, ह्यामजात, जीवन गुरुङ र प्रिसोले गोल गरे ।

एलिउको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले बचाएका थिए । एपीएफका सुदिप शिख्राकार, नवीन लामा, बुद्धिमान राई र सन्तोष कटवालले गोल गरे । आशिष लामाको प्रहार गोलरक्षक प्रिसोले बचाएका थिए । अशोक खवास, दिपेश घले र निराजन महर्जनले गोल गर्दा रन्जन पुनको पेनाल्टी बाहिरियो ।

 

एपीएफका रमेश दंगाल, प्रवीन स्याङ्तान र राम कुमार कुमालले गोल गरे । बिकु लामाको प्रहार गोलरक्षक प्रिसोले बचाए । बिकुको प्रहार बचाउदा रन्जको प्रहार बाहिरिएपछि खेल ७–७ को स्थितिमा पुगेको थियो । सुसान श्रेष्ठले गोल गर्दा करन राउतको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले बचाएका थिए । त्यसपछि एपीएफका राजन गुरुङ र गोलरक्षक अमृत चौधरीले गोल गर्दै एपीएफलाई सडन डेथमा ९–८ को जित दिलाए ।

त्यसअघि चन्द्रागिरी नगरपालिका नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएकबो खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेको थियो । आठौं मिनेटमा एपीएफका सुदिप शिख्राकारको पासमा प्रवीन स्याङ्तानको प्रहार गोलरक्षक प्रिसोले बचाएा थिए ।

नवौं मिनेटमा थ्री स्टारका दिपेश घलेको प्रहार गोलरक्षकले बचाए । १२औं मिनेटमा एलिउको प्रहारलाई गोलक्षक अमृतले राम्ररी ठम्याउन नसक्दा बाउन्स हुदै पोस्टबाट थोरै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा आशिष लामाको प्रहारलाई गोलरक्षक प्रिसोले बचाइदिए ।

२७औं मिनेटमा सुदिप शिख्राकारको क्रस पासमा कप्तान नवीन लामाको हेडरलाई गोलरक्षक प्रिसोले उत्कृष्ट डाइभिङ पञ्च दिदै बचाउदा एपीएफ चुकचुकाएको थियो । ३१औं मिनेटमा थ्री स्टारका कप्तान रुपेश केसीको प्रहारलाई गोलरक्षक अमृतले उत्कृष्ट बचाउ गरे । लगत्तै कर्नरमा सुसानको प्रहारलाई पनि अमृतले विफल पारिदिए । दोस्रो हाफमा दुवै टोलीबाट उल्लेख्य गोलको मुभ बन्न सकेन । अतिरिक्त समयको अन्तिम तिर थ्री स्टारका रन्जन पुनको प्रहार एपीएफका बिकु लामाले गोललाईनबाट बचाउदै म्भावित हार टारेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । एपीएफका सुदिप शिख्राकार खेलको म्यान अफ दि म्याच घोषित भए । उनले म्यान अफ दि म्याच र ५ हजार रुपैया हात पारे । अब फाइनल खेल शनिबार दिउँसो १ बजेपछि हुने आयोजकले जनाएको छ । अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले मंगलबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी माथि १–० को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

प्रकाशित : २०७६, ११ मंसिर बुधबार १९:२६