खबरदारी अभियानले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने:महामन्त्री सिंह

  • 5
    Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंह ‘मेची–महाकाली खबरदारी अभियानमा सहभागी युवाहरुलाई प्रोत्साहन दिन बुटवल पुग्नुभएको छ । त्यस क्रममा महामन्त्री सिंहले अखिल नेपाल युवक संघले सञ्चालन गरेको खबरदारी अभियानले नयाँ युवा पुस्तालाई पार्टीप्रति आकर्षित गर्न मद्दत गर्ने बताउनुभयो ।

युवाहरुको अभियानलाई अभिनन्दन गर्दै सिंहले युवक संघले सञ्चालन गरेको ‘भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको खबरदारी अभियानले राष्ट्रिय महत्व राख्ने पनि बताउनुभयो । बुधबार बुटवलमा युवाहरुलाई प्रशिक्षण दिँदै महामन्त्री सिंहले खबरदारी अभियानले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

महामन्त्री सिंहले भन्नुभयो, ‘अहिले देशमा भ्रष्टाचार संस्थागत रुपमा बढेको छ । राष्ट्रियतामाथि नयाँ नयाँ संकटहरु बढ्दै गएका छन् । नागरिकता विधेयकले गैर नेपालीलाई ठुलो संख्यामा नेपालको नागरिकता दिएर नेपालीलाई नै अल्पमतमा पार्ने सम्भावना देखिएको छ । सीमा अतिक्रमण भइरहेको छ । यस्तो अवस्थामा तपाई (युवाहरु) ले सञ्चालन गरेको खबरदारी अभियानको राष्ट्रिय महत्व छ ।’

अभियान टोली मंगलबार साँझ बुटवल पुगेको हो । बुटवलस्थित राष्ट्रिय जनमोर्चाका क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा महामन्त्री सिंहसँग अभियन्ताहरुले भेटघाट गरेका थिए । त्यस क्रममा सिंहले युवाहरुको अनुभव सुन्नुभएको थियो ।

बुटवलबाट अघि बढेको अभियान टोलीलाई बुधबार नबलपरासीमा स्वागत गरिएको थियो । त्यसपछि सुनवलमा आयोजित कोणसभामा राजमो नेता कृष्ण पौडेल र युवक संघका सचिव भक्त बिकले सम्बोधन गर्नुभएको थियो भने सञ्चाचालन कोषाध्यक्ष भिमसेन वनले गर्नुभयो । यता, परासीमा आयोजित सभामा राजमो नेता उतम खरेलले सम्बोधन गर्नुभयो । सभाको सञ्चालन युवक संघका केन्द्रीय सदस्य बरुणध्वज मल्लले गर्नुभयो । यस्तै, बर्दघाटमा आयोजित कोणसभालाई रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले सम्बोधन गर्नुभयो भने सञ्चालन डम्बर खड्काले गर्नुभयो ।

आजै दुम्किबासमा अर्को कोणसभा भएको छ । सभामा राजमो नवलपुरका उपाध्यक्ष बिक्रम चैधरीले सम्बोधन गर्नुभयो भन सञ्चालन भिमसेन वनले गर्नुभयो । यसैगरी काबासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले खबरदारी अभियानमा संलग्न युवाहरुले देशको सबैभन्दा ठुलो रोग भ्रष्टाचार र राष्ट्रियताको समस्या विरुद्ध जुधेर ऐतिहासिक काम गरेको बताउनुभएको थियो । कार्यक्रममा राजमो नवलपुरका अध्यक्ष दिपक पाण्डे र युवक संघका उपाध्यक्ष चित्र एमसीले पनि सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन युबक संघका केन्द्रीय सदस्य बिक्रम थापाले गर्नुभएको थियो ।

प्रकाशित : २०७६, २२ माघ बुधबार २२:५९