कंलकी हिट एण्ड रन : फरार टिपर नख्खुडोलमा फेला

२३ माघ, काठमाडौं ।कलंकीमा बुधबार मध्यराति दुई जनाको मृत्यु हुने गरी मोटरसाइकललाई ठक्कर दिएर फरार टिपर नख्खुडोलमा भेटिएको छ ।

नख्खु खोलाको पुल छेऊ चन्द्रसूर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा टिपर भेटिएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रहरी निरीक्षक पुरूषाेतम कार्कीले टिपरलाई नियन्त्रणमा लिएकाे पुष्टि गरे ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेमा रौतहटका हटहरिया गाउँपालिका-४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया- ७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन् ।

उनले दुर्घटनामा बा ४ ख ८५६९ नम्बरको टिपर संलग्न रहेको र उक्त टिपरलाई फेला पारिएको जानकारी दिए ।

उनका अनुसार सवारीधनी प्रहरीको सम्पर्कमा आइसकेका छन् । यद्यपि, चालक भने फरार छन् । उनको पनि खोजी भइरहेको छ ।

कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २-०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बल्खुबाट आएको मोटरसाइकलाई ठक्कर दिँदा आगजनी पनि भएको थियो । मृतकको शरीरसमेत जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

चारवटा टिपर एकसाथ आएकोमा ओभरटेक गर्ने क्रममा बा४ख ८५६९ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियाे ।

उक्त टिपर रामेछापका अरुण खड्काको स्वामित्वमा रहेको र खड्का सम्पर्कमा आइसकेको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रकाशित : २०७६, २३ माघ बिहीबार २०:४३