अब विप्लव पनि नेकपामा आउनुपर्छ: प्रचण्ड

चैत २६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब नेत्रविक्रम चन्द ‘विप्लव’ पनि नेकपामा आउनु पर्ने बताएका छन् ।

विप्लव निकट युवा संगठनका नेता कार्यकर्तालाई मंगलबार आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले ढिलो चाढो विप्लव पनि यसैगरी नआई सुखै नभएको बताएका हुन् ।

‘नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रको बृहत्तर हितका लागि हामी आफैंले लडेर जे उपलब्धि ल्याएका छौं, त्यसको रक्षा गर्ने र नयाँ परिस्थितीमा नयाँ ढंगले समाजवादतिर अगाडि बढ्ने बाहेक अर्का विकल्प छैन,’ दाहालले भने, ‘विप्लवले पनि यो कुरालाई बुझ्नु आवश्यक छ ।’

पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिने बताउँदै प्रचण्डले अन्यलाई पनि राजनीतिको प्रवाहमा आउन अपिल गरेका हुन् ।

पार्टी प्रवेश गरेका युवाको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफ्नो भएको भन्दै दाहालले विप्लवको पार्टीमा लागेकालाई ढुक्कसँग नेकपामा आउन अपिल गरेका छन् ।

प्रकाशित : २०७५, २६ चैत्र मंगलवार २२:१०