गल्ती गर्ने चालक दण्डित ईमानदार चालक पुरस्कृत

  • 19
    Shares

फाल्गुन १९, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा असल ट्याक्सी चालक सम्मानित गरेकाे छ ।

आ.ब.२०७६/०७७ को विभिन्न मितिमा भाडाकारमा छुटेका नगद, गरगहना र महत्वपुर्ण सामानहरु यस महाशाखामा आफै बुझाउन ल्याउने २१ जना भाडाकार चालकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा युवराज राना मगर, यज्ञ प्रसाद बराल, कुल बहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापा मगर, अबदेश कुमार झा, प्रविन तामाङ, सुर्य बहादुर तामाङ, कृष्ण बहादुर खत्री, कृष्ण घिसिङ, नेत्र प्रसाद तामाङ, रामचन्द्र मोत्तान, रोएत बहादुर रोक्का, जम्क श्रेष्ठ, रिध बहादुर क्षेत्री, नविन सिग्देल, तुलसी राम खनाल, विष्णु आले, नेत्र बहादुर मगर, मनि श्रेष्ठ र निलहरि ढुगेंल रहेका छन् ।

चालकलाई सम्मान गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको यो ईमान्दारिताले समाजमा अरू मान्छेहरूलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए ।

‘ट्राफिक क्षेत्रमा देखिएको समस्याको समाधानको मुख्य आधार नै चालक रहेकोले सडकलाई अनुशासित र मर्यादित बनाउने काम चालकको हो, तपाईँहरु त्यो कार्यमा लाग्नुहोस्, सडकमा देखिएका समस्या समाधान हुन्छ, तपाईँहरुलाई परेको समस्या समाधान गर्न हामी तयार छौँ ।’
उनले भने ‘ट्राफिक प्रहरी र सवारी चालक दुश्मनका रुपमा नभई मित्रको रुपमा व्यवहार गर्नुपर्ने बताउँदै ‘पहिला आफू सुध्रिए मात्र अरु सुध्रिन्छन् भन्ने परिपाटीको विकास गर्नु जरुरी छ ।’
आज सम्मानित हुने चालकहरूमध्ये चालक नविन सिग्देलले अन्दाजी १० लाख ६६ हजार मूल्य पर्ने सुनको १३ तोला बराबरको गरगहना, ल्याप्टप थान १ थान, महत्वपुर्ण कागजपत्र भएको लगेज ब्याग आफै बुझाउन ल्याएका थिए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार यस आ.व. २०७६/७७ मा ट्रयाक्सीमा मात्रै ३९५ वटा सामान छुटेको निवेदन परेको थियो र ट्राफिक प्रहरीको सक्रियतामा अन्दाजी १ करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरको सामान २८० जना सम्बन्धित सामान बुझाईसकेको छ भने ५२ वटा सवारीको नम्बर खुल्न नआएकोले अनुसन्धान जारी रहेको जानकारी दिएका थिए ।

प्रकाशित : २०७६, १९ फाल्गुन सोमबार १५:५७