क्वारन्टाइनमा राखिएको ५ तले होटल भत्कियो : ४ मृत

एजेन्सी, २५ फागुन । दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको छ ।

सो होटलको पाँचतले भवन भत्किँदा ४ जनाको ज्यान गएको चिनियाँ अधिकारीहरूले बताएका छन् । च्वान्जू नगरस्थित उक्त होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेको बताइएको थियो ।

तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बाहिर निकाल्न नसकिएकामध्ये ४ मृतक भेटिएका छन् । अझै भग्नावशेष मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा खिचिएको भिडिओमा उद्धारकर्ताहरूले खोजी गरिरहेको देखिन्छ । सुविधासम्पन्न मानिएको सो पाँचतले होटल भत्कनुको कारण भने अहिलेसम्म खुल्न सकेकाे छैन ।

प्रकाशित : २०७६, २५ फाल्गुन आईतवार १३:००