कोटेश्वर-कलंकी सडक खण्डमा पनि लेन प्रयोगको नयाँ नियम

  • 5
    Shares

२६ फागुन काठमाडौं कोटेश्वर–कलंकीको ८ लेन सडक खण्डमा सवारी लेन प्रयोगसम्बन्धी नयाँ नियम लागू गर्न लागिएको छ ।

चैत २ गतेदेखि यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (दुर्त) लेनबाट मात्र चलाउने व्यवस्था लागू गर्न लागिएको हो ।

उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले लेन प्रयोगको नयाँ नियम ल्याइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।

उनले भने, “यो सडक व्यबस्थित र सुबिधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएको छ ।”

देशकै पहिलो १० किमी लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ् रहेको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिबर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए ।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ ।

यस नियम यसअघि नै महाशाखाले जडिवुटी–सुर्यविनायक सडक खण्डमा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको छ ।

प्रकाशित : २०७६, २७ फाल्गुन मंगलवार १८:५१