सादा पोशाकमा कार्यरत ७४ प्रहरी जिम्मेवारीबाट हटाइए

१ चैत्र काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा लामो समयदेखि सादा पोशाकमा कार्यरत १७ अधिकृत र ५७ जवानसहित ७४ जनालाई सो जिम्मेवारीबाट हटाइएको छ ।

उनीहरुले उल्लेखनीय कार्य गर्न नसकेका कारण सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको हो ।

प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृदी गर्ने उद्देश्यले उक्त कार्य गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

अब इन्टेलिजेन्ट ग्रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने कुरा प्रहरी नायव महानिरीक्षक पोखरेलकाे भनाइ छ ।

उनले अव सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने जानकारी दिए ।
उनका अनुसार आचरण व्यवहार सुधारको हिसावले पठाइएका अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत संचालन गरिने छ ।

सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलत:प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत महानगरीय प्रहरी कार्यालय रानीपाेखरीले जनाएको छ ।

प्रकाशित : २०७६, १ चैत्र शनिबार १८:५०