बरामद गरेकाे मास्क बिक्री गर्न निर्देशन (विज्ञप्ति सहित )

  • 1
    Share

३ चैत, काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरीले बरामद गरेको मास्क अविलम्ब बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहद जनहितलाई ख्याल गर्दै बरामद सो मास्क बिक्री वितरण गर्न निर्देशन दिएका हुन् ।

मास्क लुकाउनेविरुद्ध मुद्दा चलाउने क्रममा जिल्ला प्रशासन कार्यालयमा प्रमाणस्वरुप बरामद मास्क पेश गर्नुपर्ने हुँदा बजारमा पठाउने कि नपठाउने भन्ने अन्योल भएको थियो ।

मास्कको मूल्य र नमुनासहितको अभिलेख राखेर बिक्री वितरण गर्न प्रहरी प्रमुख (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई लिखित निर्देशन दिइएको खरेलले जारी गरेकाे पत्रमा भनिएकाे छ ।

मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर बरामद मास्कको मूल्य र नमुनासहितको अभिलेख एवं फोटोसहितको डिजिटल अभिलेख राखेर बजारमा पठाउन निर्देशन दिएका हुन् ।
महान्यायाधिवक्ता खरेलले आईजीपीलाई दिएको निर्देशनमा भनिएको छ, ‘बरामद मास्क मुद्दाको कारबाहीका क्रममा मुद्दा हेर्ने निकायमा दसीस्वरुप पेश गर्दा बजारमा मास्कको अभाव भैरहने र अहिलेको विषम परिस्थितिमा त्यसको प्रयोग गर्न नसकिने अवस्था हुने हुँदा बृहद सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिई उक्त अपराध अनुसन्धानको क्रममा निम्नअनुसार गर्न गराउनुहुन मुलुकी फौजादारी कार्यविधि संहिता २०७४ को दफा २७ अनुसार निर्देशन दिइएको छ।’

बरामद मास्क थन्किरहँदा बजारमा मास्‍क अभाव कायमै रहने हुँदा डिजिटल अभिलेख राखेर बजारमा पठाउन सुझाव दिएको महान्यायाधिवक्ता खरेलको भनाइ छ ।

त्यस्तै बरामद मास्कहरुको हालको बजार मूल्य अनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई सो रकम प्रहरीको धरौटी खातामा राख्न महान्यायाधिवक्ताको निर्देशन छ ।

त्यसपछि मुद्दा अभियोजनका क्रममा धरौटी खाताको रकम बरामद गर्न मागदावी गर्न महान्यायाधिवक्ताको सुझाव छ । प्रहरीले अाज मात्र चन्द्रागिरि १० बिष्णुदेवीवाट ८ लाख ४९ हजार ६ सय थान मास्क बरामद गरेकाे थियाे भने केही दिनयता १२ लाख भन्दा बढी मास्क बरामदम गरिसकेको छ ।

विज्ञप्ति हेर्नुहाेला

 

प्रकाशित : २०७६, ३ चैत्र सोमबार १८:१८