काठमाडौं प्रहरी कार्यालयको मूलगेटमै साबुन–पानी, हात नधोए प्रवेश निषेध !

काेराेना भाईरस संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यालयमा प्रवेश गर्नुअघि साबुन–पानीले हात धोई ज्वरो नापेर मात्र प्रवेश गराउने नियम लागू गरिएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि बिहीवारदेखि कार्यालयको मूलगेटमा साबुन–पानीले हात धुने र ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरिएको बताए ।


एसएसपी सुवेदीले भने, ‘प्रहरी परिसरको मूलगेट अगाडि बाल्टिनमा पानी र साबुन राखिदिएका छौं । ज्वरो नापेर र हात धोएर मात्र भित्र जानुहोला भन्ने सूचना समेत मूलगेट अगाडि राखेका छौं । कार्यलयमा प्रहरी कर्मचारी होस् वा थुनुवा भेट्न आउने आगन्तुकलाई साबुन पानीले हात धोएपछि मात्र भित्र प्रवेश गर्ने नियम बनाएका छौं ।’

काठमाडौंका हरेक वृत्तमा बिहीवारैदेखि साबुन–पानीले हातधुने व्यवस्था मिलाइसकिएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरी वृत्तमा क्रमशः ज्वरो मापनयन्त्र समेत व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

प्रकाशित : २०७६, ६ चैत्र बिहीबार २३:२१