आफै सडकमा खटिए ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकाल

चैत्र ११, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन (लकडाउन) सरकारले दिएको आदेशको कार्यान्वयनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाल आज बिहानैदेखि ट्राफिक प्रहरीको सक्रिय परिचालन गरी आफै सडकमा उत्रिएका छन् ।

लकडाउनको पहिलो दिन आज प्रभावकारी बनाउन महाशाखाको प्रमुख एसएसपी ढकाल कार्यालय भित्र मात्र सीमित नरही आफै सडकमा उत्रिएका हुन् ।

उपत्यकाको सहज, सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनको लागि आवश्यक योजना तर्जुमा तथा निर्देशन दिन व्यस्त हुने ढकाल विषम परिस्थितीसँग जुध्न आज फरक भुमिका देखिएका हुन ।

ढकालले आफैँ उपत्यकाको सम्पूर्ण सडकमा पुगेर सवारी चेकजाँच गर्न फिल्डमै खटिएका हुन् । उनले सडकमा छिट्टफुट्ट निस्केका सवारीलाई चेक जाँच गर्नुका साथै आवश्यक सावधानी अपनाई घरमै बस्न सम्झाईबुझाई पनि गरेका छन् ।
सरकारवाट घोषित लकडाउन सफल बनाउन महाशाखावाट विहान, दिउँसो र राति समेत गरी करिब ६०० ट्राफिक प्रहरी परिचालित गरेको महाशाखाले जनाएको छ ।

अत्यावश्यक सेवा र पासका गाडी मात्रै चलेको अन्य गाडी चल्नबाट रोक लगाइएको र सर्बसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको छ ।
प्रमुख व्यक्ति नै फिल्डमा खटिएपछि यस्तो समयमा काम गर्न थप मनोबल पुगेको ट्राफिक प्रहरीहरु बताउँछन् ।
उपत्यकामा बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ ।

प्रकाशित : २०७६, ११ चैत्र मंगलवार १८:३९