विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

कोरोना भाइरस संक्रमणको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरको घरपरिवारमा छाक टार्न समस्या परिरहेका बेला जनप्रतिनिधिको पहलमा अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ । काठमाडौँमा महानगरपालिका वडा नम्बर ५ मा शुक्रवार ७ सय ३२ परिवारलाई राहत वितरण गरिएको हो ।

लकडाउनको समयावधिलाई मध्यनजर गर्दै महानगरपालिकाले ३२ वटै वडामा राहत सामाग्री वितरण गरिरहेको छ। सोही अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सांसद नारायण सिलवालको पहलमा ५ नम्बर वडामा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।  सामाजिक दुरीको ख्याल गर्दै व्यवस्थित तरिकाले साढे तीन फिटको दुरी कायम गर्दै राहत वितरणका साथै विपन्न परिवारलाई साबुन समेत वितरण गरिएको छ । ‘मैले प्रत्यक्ष रूपमा प्रतिनिधित्व गरेका क्षेत्रहरू २, ४ र ५ वडाहरूमा रहेका असहाय, दैनिक ज्यालादारी मजदुर, ठेलागाडा तथा नाङला पसले, घरेलु कामदारहरूलाई राहत वितरण भइरहेको छ,’ राहत पाउन बाँकी रहेकालाई शनिवार वितरण गरिने छ,’ नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद सिलवालले भने ।

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणको चेन तोड्न जारी लकडाउनले गर्दा दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्गहरू राहत पाएपछि उत्साहित छन् । वडा नम्बर ५ मा राहत पाउन बाँकी रहेका १ सय ५० जनालाई शनिवार वितरण गरिने वडा अध्यक्ष रमेश डङ्गोलले बताए । ‘चामल, चिउरा, तेल, दाल, चीन, नुन, बिस्कुट, पाउरोटीलगायतका खाद्य सामग्री वितरण गरिरहेका छौँ, फारम भरेर कुपन लिएका राहत पाउन बाँकी परिवारलाई शनिवार वितरण गर्नेछौ ’ वडाध्यक्ष डङ्गोलले भने ।

यस्तै वडा नम्बर ४ मा राहत लिनको लागि २ हजार ५ सय बढी निवेदन परेको छ । निवेदनमाथि छानविन गरि आईतबारदेखि राहत वितरण सुरु गरिने प्रदेश सांसद सिलवालले बताए । उनले भने, ‘विपन्न वर्गले राहत सामग्री पाउन् तथा सामग्रीको दुरुपयोग नहोस् भनेर (केन्द्र सरकारले बनाएको मापदण्डमा टेकेर) यस क्षेत्रका नागरिकलाई राहत वितरण गरिरहेका छौ ।’ वडा नम्बर २ मा बुधवार, बिहीबार र शुक्रवार १ सय ३४ परिवारलाई राहत वितरण गरिएको छ । बाँकी रहेकालाई शनिवार पनि वितरण गरिने वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०७६, २४ चैत्र सोमबार १५:०१