२७ दिनपछि घर फर्किइन् फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती

  • 226
    Shares

६ वैशाख, काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् ।

फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपछि शनिबार घर फर्किएकी हुन् ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

फ्रान्सबाट नेपाल आएपछि उनी होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।

नेपालमा देखिएको कोरोनाभाइरसको यो दोस्रो केस थियो। चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन्।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

प्रकाशित : २०७७, ६ बैशाख शनिबार १५:२२